दीर्घकालीन समाधानको खोजी

  • 6 अगस्ट 2014
Image caption अमेरिकी विदेश मन्त्री जन केरीले इजरेल र प्यालेष्टीनबीच दीर्घकालीन समाधान खोज्नुपर्ने बेला आएको बताए

अमेरिकी विदेश मन्त्री जन केरीले इजरेली र प्यालेष्टीनीहरु गाजामा भएको संघर्ष विरामको फाइदा उठाएर थप व्यापक संझौतातर्फ अगाडि बढ्नुपर्ने बताएका छन्।

द्वन्द्व भड्किएको चार हप्तामा १९ सय भन्दा बढिले ज्यान गुमाएको गाजामा ७२ घन्टे मानवीय संघर्षविराम जारी छ।

मानिसहरु संयुक्त राष्ट्र संघीय शिविरबाट आफ्नो घरको परिस्थिति बुझ्न फर्किरहेका छन्।

इजरेल र प्यालीष्टीनीहरुले दीर्घकालीन संघर्ष विरामको संभावना छलफल गर्न कायरोमा आ-आफ्ना प्रतिनिधि पठाएका छन्।

बीबीसीको हार्डटक कार्यक्रमलाई दिएको अन्तरवार्तामा अमेरिकी विदेशमन्त्री केरीले विद्रोहीको रकेट आक्रमण रोक्ने इजरेलको अधिकारलाई अमेरिकाले पूर्ण समर्थन गर्ने बताएका छन्।

उनले गाजालाई नियन्त्रण गर्ने हमास अविश्वशनीय रुपमा विस्मित पार्ने किसिमका गतिविधिमा सक्रिय रहेको र त्यसले गर्दा ठूलो ध्वंस भएको बताएका छन्।

तस्वीर कपीराइट Getty
Image caption गाजामा संघर्ष विरामपछि मानिसहरु शिविरबाट घरको स्थिति बुझ्न फर्केका छन्

केरी भन्छन्, "समाधान दुइ राज्यका बीच रहेको समस्याको बृहत प्रस्तावबाट मात्र हुनेछ। जसले इजरेललाई सुरक्षा प्रदान गर्नेछ भने प्यालेष्टीनीहरुलाई राम्रो जीवन र बढ्ता स्वतन्त्रता मिल्नेछ। आतंककारी गतिविधिबाट समाधान निस्कँदैन। संझौता हुनैपर्छ।"

गाजामाथिको नाकाबन्दी हटाउनुपर्ने प्यालेष्टीनीहरुको मागलाई उनी समर्थन गर्छन् कि? भन्ने प्रश्नको जवाफमा केरी भन्छन्, "हामी प्यालेष्टीनीहरुको जीवन सुधार्ने आकांक्षालाई समर्थन गर्छौं । प्यालेष्टीनीहरुले खुला सीमामा खाद्यान्न किनमेल र ओसारपोसार गर्न पाउनुपर्छ र पुर्ननिर्माण गर्न पाउनुपर्छ, थप स्वतन्त्रता पनि पाउनुपर्छ।"

उनी भन्छन्, तर त्यो इजरेलका प्रति ठूलो जिम्मेदारीका साथ आउँछ र त्यो भनेको हमासले रकेट त्याग्नुपर्छ।

मंगलबारको संघर्ष विराम स्थानीय समय विहान ८ बजेदेखि शुरु भएको थियो र अहिलेसम्म त्यो कायमै छ।