अरनिको राजमार्गको वैकल्पिक बाटो बनाउने तयारी

  • 6 अगस्ट 2014
तस्वीर कपीराइट Dhruba Dangal
Image caption बाटो खुल्न नसक्दा त्यहाँ आसपासका मानिसहरुलाई खानाको अभाव हुन थालेको बताइएको छ।

पाँच दिन अघि सिन्धुपाल्चोकमा गएको भिषण पहिरोले सुनकोशी नदी सँगै अबरुद्ध बनेको अरनिको राजमार्ग तत्काल खुल्ने सम्भावना नरहेकोले वैकल्पिक बाटो खोल्ने तयारी गरिरहेको सरकारी अधिकारीले बताएका छन्।

बाटो अवरुद्ध हुँदा त्यसले आउँदो दसैँ तिहारको चाडलाई समेत असर गर्ने भन्दै भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधिले बैकल्पिक बाटो निर्माण गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए।

उनले भने, “अब दशैँतिहार आउँदै छ। ठूलो मात्रामा राजस्वमा असर गरिरहेको बेला बाटो खुल्ने स्थिति नभएकोले बैकल्पिक बाटो बनाउन मन्त्रीले निर्देशन दिएपछि हामी स्थानीय प्रशासनसँग मिलेर त्यसमा लागिसक्यौं।”

शनिबार बिहान ठुलो चट्टानसहित भिषण पहिरो गएपछि बनेको ड्याममा करिब ८० लाख क्युसेक पानी जमेको उनले बताए।

तयारी

त्यसको निकासी ठूलो गर्दा त्यसले तल्लो तटलाई असर गर्ने भन्दै अरनिको राजमार्ग तत्काल खुल्ने सम्भावना नरहेको बताइएको छ।

त्यसैले तातोपानी भन्सार हुँदै भित्रिने सामानको अभाव हुन नदिन लामोसाँघु र जिरि सडकको सिलढुंगाबाट बैकल्पिक बाटोको तयारी थालेको उनले बताए।

तर उद्योगी ब्यापारीले भने त्यसरी बन्ने भनिएको बैकल्पिक बाटोले त्यहाँका जनतालाई सामान पुर्याउन मात्रै सहज हुने भएकोले बिस्तारै पानीको बहाव घटाएर राजमार्गलाई नै दसैँ अघि खोल्नुपर्ने बताएका छन्।

विकल्प

उद्योग बाणिज्य महासंघ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठले भने, “त्यहाँका जनतालाई राहत दिनसम्म त्यो बाटोले काम गर्ला तर अहिले नै दसैँको लागि भनेर तातोपानीमा आइसकेको ४ सय कन्टेनर सामानलाई ढूवानी गर्ने ठूला गाडीको लागि राजमार्गकै बाटो खुलाउनुपर्छ।”

सरकारले पहिरोमा हराइरहेका १ सय २३ जना भेटिने आश नभएको भन्दै मृत घोषणा गरेर आज ८५ परिवारलाई ४० हजार रुपैँयाको दरले राहत प्रदान गरेको छ।

पहिरोमा पुरिएर र डुबानमा परेर करिब १ सय १९ घरहरु ध्वस्त भएको अनुमान अधिकारीहरुले गरेका छन्।

गृहमन्त्रीले घटना भएको पाँचौं दिन बुधबार बल्ल त्यसबारे संसदमा जानकारी गराएका थिए।