तराईका सशस्त्र समूहसँग वार्ता

  • 9 अगस्ट 2014
Image caption एउटा संबैधानिक समितिले संविधान सभा बाहिर र भित्र रहेका शक्तिहरुसँग छलफल गर्दै आएको छ

तराईका नौ वटा सशस्त्र समुहसँग शनिवार जनकपुरमा संविधानसभाको संवैधानिक, राजनीतिक तथा संवाद समिति अन्तर्गतको उप-समितिले वार्ता गर्दैछ।

नयाँ संविधानका लागि सुझाव लिने क्रममा उपसमितिले उक्त छलफल गर्न लागेको हो।

शसस्त्र समूहका राजनीतिक मागलाई संविधानसभामा छलफलका लागि लगिने वार्ता टोलीका संयोजकले बताए।

निर्क्यौल

पुर्वी पहाडमा सशस्त्र गतिविधि गर्दै आएका सातवटा समुहहरुसँग इलाममा केही समयअघि वार्ता गरेको संविधासभाको उपसमिति तराईका सशस्त्र समुहहरुसँग वार्ता गर्न जनकपुरमा जान लागेको हो।

जयकृष्ण गोइत र राजन मुक्ती सहितका नौ वटा भूमीगत समूहसँग वार्ता गर्न लागेको उपसमितिका संयोजक आनन्दप्रसाद ढुङ्गाना बताउँछन्।

उनी भन्छन्, “नौ वटा समुहसँग हामीले वार्ता गर्ने निर्क्यौल गरेका छौं। पहिचान गरिएका भित्र मनोज मुक्ति समुह, गोइत समुह, ज्वालासिंह समुह, तराई कोब्रा, तराई मुक्ति मोर्चा लगायत अरु पनि सम्पर्कमा आएका छन्। हाम्रो सभासदहरु सहजकर्ताको रुपमा जानु भएको छ। उहाँहरुसँग पहिलेदेखि नै सम्पर्क रहेछ।”

गृहमन्त्रालयले कतिपय यी संगठनलाई अपराधिक संगठनको सूचीमा राखेपनि विगतमा शान्ति तथा पूनर्निमाण मन्त्रालयले राजनीतिक मूलधारमा ल्याउने प्रयासमा केहि संगठनसँग वार्ता गरेको थियो।

क्षीण

तर वार्तामा भएका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै ति समुहहरु रुष्ट बनेका थिए।

तीन दिनसम्म चल्ने भनिएको यस पटकको वार्तामा उनीहरुका राजनीतिक मागहरुलाई सुन्ने र संविधानसभामा छलफलको लागि लगिने संयोजक ढुङ्गानाले बताए।

“उहाँहरुको राजनीतिक विचार अवश्य होला। त्यसलाई हाम्रो समिति मार्फत संविधानसभाभित्र लैजान्छौं। सहमति र असहमतिका विषयहरु त्यही छलफल हुनेछ।” ढुङ्गानाले भने।

अर्को चरणमा उपसमितिले पश्चिम तराईका दुईवटा सशस्त्र समुहसँग पनि वार्ता गर्ने बताएको छ।

पछिल्लो समयमा सशस्त्र समुहहरुको शक्ति क्षीण हुदै गएको र उनीहरुले सुरक्षित अवतरण खोजिरहेको सुरक्षा निकायहरुले बताउने गरेका छन्।