संविधानमा सहमति जुटाउन छलफल

  • 9 अगस्ट 2014
Image caption कार्यतालिका अनुसार सहमति नजुटेका विषयलाई प्रतिवेदन बनाएर दलहरुले संविधानसभालाई प्रतिवेदन बुझाउनुपर्छ।

तोकिएकै समयमा संविधान जारी गर्ने गरी विवादित विषय टुंग्याउन भन्दै प्रमुख राजनीतिक दलहरुले आपसी अनौपचारिक छलफललाई तीव्रता दिएका छन्।

संविधानका अन्तर्वस्तुहरु जस्तै राज्यपुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतका विवादित विषयमा सहमति जुटाउन सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षी दलले केही दिनदेखि आपसी अनौपचारिक छलफललाई तीव्रता दिइरहेका हुन्।

संविधानसभामा रहेका सबै दलहरु सामूहिक बसेर छलफल गर्नुभन्दा एकअर्काबीच पहिला छलफल गरे सहमति जुटाउन सजिलो हुने भन्दै ती दलले २/२ जना नेता सम्मिलित समिति नै गठन गरेका छन्।

प्रयास

त्यसै क्रममा शनिबार नेपाली कांग्रेस र एकीकृत माओवादीबीच अनौपचारिक छलफल भएको छ।

शनिबारको छलफलमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, “छुट्टाछुट्टै बैठक गर्दा आफ्ना कुरा राख्न पाइन्छ। त्यसले सहमति खोज्न सजिलो हुन्छ भनेर हामीले छलफल गरिरहेका हौं।”

यस्ता छलफलले भदौभित्र विवादित विषयमा सहमति जुटाउने र सहमति नभए मतदानको प्रक्रियामा लैजाने कार्यतालिकालाई सहज बनाउने विश्वास दलहरुले गरेका छन्।

चिन्ता

प्रमुख तीन दलले एकअर्कासँग छलफल गरिसके पनि अहिलेसम्म उनीहरु विवादित विषयमा पुरानै अडानमा कायम रहेको बताइएको छ।

यी तिनै दलले आफूहरुबीचको सहमतिपछि तराइकेन्द्रीत र साना दलहरुसँग छलफल गर्ने बताएका छन्।

यसबीचमा संविधानसभा बाहिरका राजनीतिक दलहरु खासगरी मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसंग पनि परामर्श गर्ने तयारी प्रमुख दलहरुले गरेका छन् जससम्बन्धी प्रस्ताव एकीकृत माओवादीले कांग्रेससंग पनि राखेको थियो।

तर संविधानलाई सहमतिको दस्तावेज बनाउने प्रयासमा प्रक्रियामा लैजान ढिलाइ गरिए त्यसले संविधान निर्माणलाई पछाडि धकेल्ने चिन्ता पनि कतिपयले व्यक्त गरेका छन्।