'एमाओवादी विवाद समाधानतर्फ'

  • 10 अगस्ट 2014
Image caption सहमतिलाई अनुमोदन भने केन्द्रीय समितिको बैठकले गर्नेछ।

एकीकृत नेकपा माओवादी भित्र देखिएको विवादलाई हल गर्न आइतबार बसेको बैचारिक बहस ब्यवस्थापन समितिको बैठकले नयाँ बिचारका आधारमा नयाँ संगठन बनाउने सहमति गरेको बताईएको छ।

पार्टी रुपान्तरण र बिचार बिकासको दिशातिर लाने कुराले हाललाई केन्द्रीय तहमा देखिएको विवाद हल हुने संकेत बढेको नेताहरुको भनाई छ।

बाबुराम पक्षधरहरुले बिभिन्न जिल्लाहरुमा समानान्तर कमिटी गठन गर्ने कामलाई तिब्रता दिएका समाचार आइरहदाँ पार्टी भित्रको विवाद चुलिएको जस्तो देखिएको थियो ।

शिर्षनेताहरु बीच लगातार भएका छलफलहरुलाई आइतबार बसेको बैचारिक बहस ब्यवस्थापन समितिको बैठकले नयाँ दिशा दिएको उपाध्यक्ष पोष्टबहादुर बोगटीले बताए।

उनले भने, "शनिवार सम्म अलि विवादास्पद जस्तो देखिए पनि आइतबारको छलफलले समस्या समाधानतिर पार्टीलाई नयाँ ढंगले एकतावद्ध बनाएर लैजाने देखिएको छ।"

सहमति

अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई लगायताका दुबै पक्षका शीर्ष नेता सम्मिलित समितिको बैठकले, हेटौडा महाधिबेसन देखि नै उठेको पार्टीलाई नयाँ पार्टी बनाउने कुरा र बिचारको बहसलाई तल्लो तहसम्म लैजाने सहमति भएको बोगटिले बताए।

हाल दुबै पक्षबाट हुँदै आएका विवादास्पद कार्यक्रमहरु नगर्ने र आइतबारको सहमतिलाई एकपटक स्थाई समिति बोलाएर छलफल गरिने उनले बताए।

भट्टराई पक्षधर मानिने नेता देबेन्द्र पौडेलले आइतबारको बैठकले माथिल्लो तहमा रहेको विवादलाई समाधानको दिशातिर लगेको बताए।

उनले भने, "तलसम्मका कतिपय विवादहरू त बाँकि रहन्छन्, तिनीहरूलाई हल गर्दै जानु पर्दछ। तर अहिले देखापरेको तिक्तता भने अब करिब करिब हलहुँदै जाने दिशातिर छलफल भएको छ ।"

तल्लो तहमा समेत पुगेको विवाद भने महाधिबेशनले नै समाधान गर्ने उनको धारणा छ।

बिगत लामो समय देखि नै अध्यक्ष प्रचण्ड र नेता भट्टराइ बीच बेला बेला विवादहरु देखिँदै आएका थिए।

तर समानान्तर कमिटी नै निर्माण गर्ने गरी भएको यो पहिलो पटकको विवाद हो।

विवादकै कारण भट्टराई पक्षधर केही नेताहरुलाई केही दिन अघि कारबाही समेत गरीएको थियो।

उनको कारबाहीको विषय भने स्थायी कमिटीले नै गर्ने नेताहरुले बताएका छन्।