उत्तरी इराकमा थप अमेरिकी कारवाही

  • 10 अगस्ट 2014
तस्वीर कपीराइट AFP
Image caption अमेरिकी सेनाले उत्तरी इराकमा हवाइ कारवाही जारी राखेको छ

अमेरिकी सेनाले उत्तरी इराकका नागरिकलाई बचाउन थप चारवटा हवाइ कारवाही गरेको बताएको छ।

अमेरिकी केन्द्रीय कमाण्डले युद्ध विमान र ड्रोनले हतियारधारी सवारी साधन र याजिदि समुदायमाथि प्रहार गरिरहेको एउटा ट्रक ध्वस्त पारेको बताएको छ।

अमेरिकी विज्ञप्तीमा भनिएको छ पछिल्लो कारवाही सिन्जर नजिकै अन्धाधुन्ध आक्रमणको निशाना बनाइएका याजिदि धार्मिक समुदायका मानिसको वचाउका लागि गरिएको हो।

सिन्जर नगरमा एक हप्ता अघि इश्लामिक स्टेटले नियन्त्रण जमाएपछि हजारौं नाक़गरिकहरु पहाडतिर भागेका थिए।

ध्वस्त

विज्ञप्तीमा भनिएको छ, युद्द विमान र ड्रोनले याजिदिमाथि आक्रमण गरिरहेको एउटा सवारी साधन ध्वस्त पारेको हो।

तस्वीर कपीराइट AFP US AIR FORCE
Image caption अमेरिकाले सिन्जर पहाडमा फँसेका याजिदि समुदायका मानिसलाई खसाल्न ठिक पारेका पानीका बोत्तल

राष्ट्रपति ओबामाले हवाइ कारवाहीको निर्देशन दिएपछिको यो तेश्रो अमेरिकी कारवाही हो।

यस अघिका कारवाही कर्दिश नगर इरविलमाथि खतरा पुर्याउन लागेका आइएस समुहमाथि लक्षित थियो।

विज्ञप्तीका अनुसार त्यसपछि अमेरिकी विमानले अरु हतियारधारी सवारी साधनको अनुगमन गरेर थप आक्रमण गरिएको थियो।

सन २०११ मा अमेरिकी फौज फिर्ता भएयता अमेरिकी सेना प्रत्यक्ष संलग्न भएर श्रृंखलाबद्ध कारवाही गरेको यो पहिलोपटक हो।

घोषणा

तस्वीर कपीराइट Reuters
Image caption अमेरिकाले इराकका आइएस विद्रोही लक्षित हवाइ कारवाही गर्ने निर्णय गरेको थियो

पछिल्ला दिनमा अमेरिकी विमानले पहाडमा फँसेकाहरुलाई खानेपानी र खाद्यान्न खसालेको थियो।

फ्रान्स र ब्रीटेनले पनि सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।

इश्लामवादी विद्रोहीहरुले अरु धार्मिक सम्प्रदायका मानिसहरुलाई धम्क्याएको र मारेको व्यापक आरोप छ।

शुक्रबार ओबामाले जिहादी नेतृत्वका विद्रोहीको समस्या तह लगाउन र इराक बनाउन इराकी सेनालाई केहि सयम लाग्ने चेतावनी दिएका थिए।