चिकित्सकहरुको आन्दोलन फिर्ता

  • 11 अगस्ट 2014
bir hospital
Image caption वीर अस्पतालमा पछिल्ला १६ दिन यस्तै दृश्य देखियो

आन्दोलनरत आवासीय चिकित्सकहरुका माग पुरा गर्ने सहमतिपछि वीर अस्पतालमा केही दिनयता ठप्प नियमित स्वास्थ्य सेवा पुन: सुरु हुने भएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र स्वास्थ्य मन्त्रालयसंग सोमबार भएको सहमतिपछि आन्दोलनरत चिकित्सकहरु मंगलबारबाट नियमित काममा फर्कन राजी भएका हुन्।

उक्त प्रतिष्ठानमा पदाधिकारी नियुक्तिदेखि लिएर अत्यन्तै महत्वपूर्ण ठानिएका स्वास्थ्य परीक्षण उपकरण उपलब्ध गराउनुपर्ने माग उनीहरुले अघि सारेका थिए।

माग

स्नातकोत्तर तह एमडी, एमएसमा अध्ययन गरिरहेका करीब तीन सय आवासीय चिकित्सकहरुले आन्दोलन सुरु गरेको १६ औं दिनमा सोमबार सहमति भएको हो।

उनीहरुको आन्दोलनका कारण नियमित बहिरंग सेवा ओपीडीमात्रै नभइ पछिल्ला केही दिन त आपतकालीन सेवासमेत प्रभावित हुन पुगेको थियो।

आफूहरुका माग पूरा भएकाले अब मंगलबारबाट त्यो अवस्थाको अन्त्य हुने आवासीय चिकित्सकहरुको संगठनका अध्यक्ष डा मंगल रावलले बताए।

उनले भने, “हामीले उठाएका मागहरु कुनै न कुनै रुपमा सम्बोधन भएपछि हामीले अब बिरामीहरुको समस्यालाई ध्यानमा राखेर भोलि (मंगलबार) बाट काममा फर्किने निर्णय गर्यौ”।

सोमबार भएको ९ बुंदे सहमतिले आवासको व्यवस्था लगायतका चिकित्सकहरुको सेवासुविधाको माग सम्बोधन गरेको वार्तामा सहभागी स्वास्थ्य मन्त्रालय अन्तर्गतको चिकित्सा महाशाखाका प्रमुख गुणराज लोहनीले बताए।

गम्भीर रोगहरु पत्ता लगाउन अत्यावश्यक ठानिने सीटी स्क्यान, एमआरआइ जस्ता उपकरणमध्ये केही एकमहिनाभित्र उपलब्ध गराउने तथा बाँकीको खरिद प्रक्रिया यसै वर्षभित्र थाल्ने सहमति भएको छ।

देशकै जेठो वीर अस्पतालमा कतिपय यस्ता उपकरणहरु नै छैनन् भने कतिपय बिग्रिएर त्यसै थन्किएर बसेका छन्।

राजनीति

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सभा सिनेटको बैठक १५ दिनभित्र राख्ने, दीक्षान्त समारोह यही फागुनको दोस्रो सातामा गर्ने विषयमा पनि सहमति बनेको आवासीय चिकित्सक मंगल रावलले बताए।

वीर अस्पतालबाट पछिल्लो १२ वर्षमा ७४० जनाले एमडी, एमएस उत्तीर्ण गरिसकेका छन् तर उनीहरुलाई औपचारिक प्रमाणपत्र दिन दीक्षान्त समारोह अहिलेसम्म हुन सकेको छैन।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्ति हुनुपर्ने उनीहरुको माग सोमबारको वार्ताअघि नै पुरा भइसकेको थियो।

तर उक्त नियुक्तिमा सत्तारुढ प्रमुख घटकहरुले भागवण्डा गरेको भन्दै कतिपयले आलोचना गरेका छन्।

उनीहरु भन्छन्, तत्कालका लागि यो पछिल्लो समस्या हल भएजस्तो देखिएपनि जबसम्म यस्ता राजनीतिक हस्तक्षेप जारी रहन्छन् तबसम्म वीर अस्पताल आफै नै बिरामी भइरहनेछ।