भर्खर जन्मेका शिशुको मष्तिष्क विकासक्रम तीब्र

  • 12 अगस्ट 2014
नवजात शिशु
Image caption भर्खर जन्मेका शिशुहरुको मष्तिष्कको विकास तीब्र गतिमा हुने थाहा भएको छ

संयुक्त राज्य अमेरिका गरिएको एउटा अनुसन्धान अनुसार मानिसहरुको मष्तिष्कको विकास जन्मने वित्तिकै तीब्र गतिमा हुन थाल्छ र तीन महिनाको अवधिमा नै त्यो वयस्क उमेरको बेलामा भन्दा झण्डै आधा आकारको हुन पुग्दछ।

स्नायुविज्ञान संग सम्बन्धित एउटा प्रतिष्ठित जर्नल, जर्नल अफ अमेरिकन मेडिकल एसोसियशन न्युरोलोजीमा प्रकाशित एउटा अध्ययनले मानिसको मष्तिष्कको विकास बारेको त्यस्तो तथ्य फेला पारेको हो।

आधुनिक स्क्यानिंग प्रविधि प्रयोग गरी भएको उक्त अध्ययनमा अनुन्धानकर्ताहरुले पुरुष शिशुहरुको मष्तिष्क महिला शुहरुको दांजोमा छिटो विकसित हुने गरेको थाहा पाएका थिए।

हिंडडुल गर्ने कार्यसंग सम्बन्धित मष्तिष्कको भाग सबैभन्दा छिटो विकसित हुने गरेको छ भने स्मरण शक्तिसंग सम्बन्धित भाग भने सापेक्षित रुपमा ढिलो विकास हुने गर्छ।

बैज्ञानिकहरुले भनेका छन्, यो अध्ययनबाट प्राप्त तथ्यांकहरुको अध्ययनबाट अटिजम् जस्ता रोगहरुको प्रारम्भिक संकेतहरु छिटै पहिचान गर्न सघाउ पुग्न सक्छ।

Image caption वैज्ञानिकहरुले विभिन्न उमेरमा ८७ जना बालबालिकाको मष्तिष्कको स्क्यान गरेर अध्ययन गरेका थिए

मष्तिष्क विकासको अध्ययन

शताव्दीऔं देखि चिकित्सकहरुले विभिन्न समयमा बालकहरको टाउकोको गोलाइ नापेर मष्तिष्कको विकासको अनुमान गर्ने गर्दथे।

त्यसरी अध्ययन गर्दा सामान्य विकासको ढांचामा कुनै परिवर्तन देखा परेमा त्यो मष्तिष्क सम्बन्धि समस्याको संकेत हुन सक्दथ्यो।

तर बालकहरुको टाउकोको आकार प्रकार फरक फरक हुने हुंदा, नापेर गरिने अध्ययन संधै सहि नहुन पनि सक्थ्यो।

पछिल्लो अध्ययनका सिलसिलामा क्यालीफोर्निया विश्व विद्यालयका बैज्ञानिकहरुले जन्मे देखि तीन महिना उमेरसम्मका ८७ जना स्वस्थ बालकहरुको मष्तिष्कको स्क्यान गरेका थिए।

तिनीहरुले ति बालकहरुको मष्तिष्कको सबैभन्दा तीब्र विकास जन्मेको केहि समयमा नै देखेका थिए।

बृद्धिदर

तस्वीर कपीराइट PA
Image caption नब्बे दिनपछि शिशुको मष्तिष्कको बृद्धिदर केहि घट्ने देखिएको छ

भर्खर जन्मेका शिशुहरुको मष्तिष्क प्रतिदिन एकप्रतिशतको दरले बढेको थियो।

नब्बे दिनको अवधिसम्म पुग्दा यस्तो बृद्धिदर घटेर प्रतिदिन शून्य दशमलव चार प्रतिशत पुगेको थियो।

अनुसन्धानकर्ताहरु भन्छन्, मष्तिष्कका विभिन्न भागहरुको सामान्य विकासक्रमको अध्ययन गरेर बालबालिकाहरुमा मष्तिष्कसंग सम्बन्धित रोगहरु कसरी शुरु हुने गर्छन् भन्ने बुझ्नका लागि सहयोग पुग्न सक्छ।

अब बैज्ञानिकहरुले बच्चा आमाको पेटमा भएका बेला आमाले सेवन गर्ने मदिरा र अन्य लागु पदार्थको प्रभाव शिशुको मष्तिष्कमा कस्तो पर्दछ भन्ने अनुन्धान गर्ने भएका छन्।