'इबोला भाइरसको औषधी प्रयोग गर्न सकिने'

  • 12 अगस्ट 2014
तस्वीर कपीराइट Science Photo Library
Image caption इबोला भाइरस नेपालमा भित्रिनेबारे पनि निकै चिन्ता व्यक्त भइरहेका छन्।

विश्व स्वास्थ्य संगठनको विज्ञहरुको एक समुहले पश्चिम अफ्रिकामा इबोला भाइरसबाट संक्रमित विरामीहरुमा परिक्षणको लागि बनाइएका औषधी प्रयोग गर्न सकिने बताएको छ।

इबोला भाइरसको पछिल्लो महामारीका कारण एक हजार मानिसको ज्यान गइसकेको छ।

सो समुहले पछिल्लो परिस्थितिमा औषधी वा भ्याक्सिनको प्रभावकारिता परिक्षणको परिणाम थाहा नहुँदा पनि तिनको प्रयोग गर्नु सहि हुने बताएको छ।

अहिले दुईजना अमेरिकी सहायता संस्थाका कर्मचारीहरुमा परिक्षणको लागि बनाइएको औषधी प्रयोग भइरहेको छ।

संक्रमण

स्पेनमा चाहीं इबोलाबाट संक्रमित भएर उपचार भइरहेका एक पादरीको मृत्यु भएको स्पेनी स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

फादर मिग्युल पाजारेसलाई लाइबेरियाको राजधानी मनरोवियास्थित एक अस्पतालमा काम गर्ने क्रममा इबोला भाइरसको संक्रमण भएको थियो।

सो अस्पतालका दुई जना कर्मचारीको पनि इबोलाको संक्रमण पछि मृत्यु भइसकेको छ।

लाइबेरियाबाट स्पेन फिर्ता ल्याइएपनि म्याड्रिडमा उनलाई अमेरिकी औषधी जेडमाप दिइएको थियो।

त्यही औषधि दिइएका अमेरिका विरामीहरुमा सुधारका लक्षण देखिएको बताइएको छ।

स्वास्थ्य संकट

इबोलाको महामारी फैलिने डरका माझ स्वीटजरल्याण्डमा चिकित्सा क्षेत्रका विशेषज्ञहरुको वैठक बसेको थियो।

वैठकपछि विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले सम्भाव्य औषधी निकै थोरै मात्रामा उपलब्ध भएको बताएका छन्।

विश्व स्वास्थ्य संगठनले परिक्षणका लागि बनाइएका औषधी विरामीको सहमतिमा प्रयोग गरिनुपर्ने र त्यो प्रयोग गरेपछिको परिणामबारेका जानकारी संकलन गरेर सार्वजनिक गरिनु पर्ने बताएको छ।

गत साता विश्व स्वास्थ्य संगठनले इबोला विश्वव्यापी स्वास्थ्य संकटको रुपमा देखा परेको घोषणा गरेको थियो।