'विमानस्थलमा विशेष हेल्थ डेस्क'

  • 14 अगस्ट 2014
तस्वीर कपीराइट TIA
Image caption अन्तर्राष्ट्रिय विमानस्थलमा संक्रमित व्यक्ति फेला परेमा त्यहींबाट अस्पताल पु-याइने अधिकारीहरु बताउँछन्

पश्चिम अफ्रिकी मुलुकहरुमा एक हजारभन्दा बढी मानिसहरुको ज्यान लिइसकेको घातक इबोला भाइरस नेपालमा भित्रिन नदिनका लागि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि विशेष हेल्थ डेस्क सञ्चालनमा ल्याउने तयारी भएको अधिकारीहरुले बताएका छन्।

विदेशबाट नेपाल आउने कोही व्यक्तिमा उक्त भाइरसको संक्रमण देखिए चिकित्सकको निगरानीमा राखिने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका एक उच्च अधिकारीले बताए।

परराष्ट्र मन्त्रालयले भने सम्भव भएसम्म इबोला भाइरसबाट प्रभावित पश्चिम अफ्रिकी मुलुकहरुको भ्रमण नगर्न सबैलाई आग्रह गरेको छ।

इबोला भाइरस अत्यन्त छिटो सर्ने भएकाले विश्वभर सतर्कता अपनाउन थालिएको पृष्ठभूमिमा नेपालमा उक्त घातक भाइरस भित्रिन नदिनका लागि रोकथामका उपायहरु अवलम्बन गर्न लागिएको अधिकारीहरुले बताएका छन्।

जोखिम

इबोला भाइरसबाट प्रभावित पश्चिम अफ्रिकी मुलुकहरुबाट नेपालमा पर्यटकहरु खासै नआउने भएपनि संभावित जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क खडा गर्न लागिएको अधिकारीहरुले बताए।

उक्त तयारीबारे इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक बाबुराम मरासिनीले भने, ''हामी शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क शुरु गर्छौं। बिहीबार हामीले केही उपकरणहरु जम्मा ग-यौं। शुक्रबार ११/१२ बजेसम्म गर्छौं अनि केही कर्मचारीहरुलाई प्रशिक्षण दिन्छौं। एकजना चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली बस्नेछ।''

हवाईमार्ग भएर मानिसहरु विदेशबाट सीधै नेपाल प्रवेश गर्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो प्राथमिकतामा राखिएको अधिकारीहरु बताउँछन्।

तर स्थलमार्ग भएर नेपाल प्रवेश गर्नेहरुबाट पनि इबोला भाइरस भित्रिन सक्ने संभावना रहेकाले भारतसँगका नाकाहरुमा पनि हेल्थ डेस्क राखिने सरकारको तयारी छ।

भ्रमण

निर्देशक मरासिनीले थपे, ''सीमा नाकाहरुमा पनि राख्ने हामीले प्रक्रिया थाल्छौं। भारतसँग सीमा जोडिएका नाकाहरुमा राख्छौं। कञ्चरपुरदेखि काकडभिट्टासम्म भीसा लाग्ने ६ वटा नाकाहरुमा हेल्थ डेस्क राख्न शुरु गर्छौं।''

इबोला भाइरसबाट प्रभावित पश्चिम अफ्रिकी मुलुकहरु गीनी, नाइजेरिया, लाइबेरिया र सियरा लियोनको सकेसम्म भ्रमण नगर्न परराष्ट्र मन्त्रालयले सबैलाई आग्रह गरेको छ।

भ्रमण गर्नै परे उच्च सतर्कता र सावधानी अपनाउन तथा फर्की आएपछि नजिकको स्वास्थ्य संस्थासँग सम्पर्क गरी कम्तीमा २१ दिनसम्म रेखदेखमा रहन समेत अनुरोध गरेको छ।