'इबोला महामारी रोक्न ६ महिना लाग्ने'

  • 15 अगस्ट 2014
तस्वीर कपीराइट AFP
Image caption इबोला भाइरसबाट स्वास्थ्यकर्मीहरुको समेत मृत्यु हुन थालेपछि झन त्रास बढेको बताइएको छ

पश्चिम अफ्रिकामा एक हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको इबोला भाइरसको महामारी नियन्त्रणमा आउन कम्तीमा ६ महिना लाग्ने स्वास्थ्यसम्बन्धी एउटा अन्तर्राष्ट्रिय सहयोगी संस्था मेदिसाँ सँ फ्रँतियकी प्रमुखले बताएकी छन्।

जेनेभामा बोल्दै जुआँ लुले विश्व स्वास्थ्य संगठनले थप नेतृत्वदायी भूमिका खेल्नुपर्ने र महामारी रोक्नका लागि लाइबेरियामा इबोला भाइरसको संक्रमण नियन्त्रण हुनु महत्वपूर्ण हुने बताइन्।

अन्तर्राष्ट्रिय समुदायबाट महामारी रोक्ने प्रत्यक्ष अनुभव प्राप्त तथा विज्ञहरुको आवश्यकता रहेको उनको भनाइ थियो।

लुले इबोला भाइरसबाट मृत्यु हुनेहरुमध्ये ८० जना स्वास्थ्यकर्मी रहेको र एकसय ७० जना स्वास्थ्यकर्मी संक्रमित भएको बताइन्।

नियन्त्रण

लुले सबैभन्दा बढी ३ सय जनाको ज्यान गइसकेको लाइबेरियामा इबोला भाइरसको महामारी नियन्त्रण गर्नु महत्वपूर्ण हुने उल्लेख गरिन्।

उनले लाइबेरियामा स्थितिलाई स्थिर तुल्याउन नसकिए पूरै क्षेत्रको स्थिति नियन्त्रणमा ल्याउन नसकिने जनाइन्।

उनले भनिन्, ''समयसीमाको सन्दर्भमा हामी हप्ताको कुरा गरिरहेका छैनौं, हामी महिनाको कुरा गरिरहेका छौं। हामी महिनौंका लागि प्रतिवद्धता चाहन्छौं, कम्तीमा म ६ महिना भन्छु। म एकदम आशावादी भईरहेको छु।''

असाधारण

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा अन्तर्राष्ट्रिय समुदायलाई थप कदम चाल्न उनले आह्वान गरिन्।

इबोला भाइरसको महामारीलाई रोक्ने हो भने सबै सरकारहरुले मिलेर काम गर्नुपर्ने उनले बताइन्।

यसअघि विश्व स्वास्थ्य संगठनले प्रकोप नियन्त्रणका लागि असाधारण कदम चाल्न आवश्यक रहेको बताएको थियो।

गत फेब्रुअरिमा गिनीमा शुरु भएको इबोला भाइरसको महामारी लाइबेरिया, सियरा लियोन र नाइजेरियामा फैलिसकेको छ।

उक्त भाइरसका कारण हालसम्म एक हजार ६९ जनाको मृत्यु भईसकेको छ।