'सकंट समाधानका लागि इराकी प्रधानमन्त्रीद्वारा राजीनामा'

  • 15 अगस्ट 2014
तस्वीर कपीराइट AFP
Image caption इराकका हालका उपसभामुख भावी प्रधानमन्त्रीमा हैदर अल अबादी मनोनीत भैसकेका छन्

इराकका प्रधानमन्त्री नूरी अल मलिकीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै उनले पद छाडेको घोषणा गरेपछि प्रधानमन्त्रीमा मनोनित हैदर अल अबादीलाई नयाँ सरकार गठनका लागि बाटो खुलेको हो।

इस्लामवादी विद्रोहीहरुका गतिविधि नियन्त्रण गर्ने इराकी सरकार संघर्षरत रहेको बेला मलिकीलाई पद त्याग गर्न व्यापक दवाव परिरहेको थियो।

पछिल्लो समयमा उनको आफ्नै दल, संस्थापन सिया पक्षधर धार्मिक नेताहरु, इरान र अमेरिकाले मलिकीलाई इराकको समस्याका रुपमा चित्रण गर्दै देशमा जारी राजनीतिक गतिरोधको कारकको आरोप उनीमाथि लगाउँदै आएका थिए।

सम्बोधन

सरकारी टेलिभिजनमा प्रधानमन्त्री मनोनित अबादी र सिया मुसलमान गठबन्धनका अन्य नेताहरुलाई लहरै राखेर राजीनामा दिएको घोषणा गर्नु अघि मलिकीले इस्लामवादी स्टेट सम्बद्ध जिहादीहरुबाट आंतककारी आक्रमणको जोखिम रहेको बताएका थिए।

उनले राजनीतिक प्रकृया सहज रुपमा अघि बढोस र नयाँ सरकार निर्माण होस भनेर आफूले सहकर्मी हैदर अल अबादीका लागि प्रधानमन्त्रीको पदमाथिको दाबी छोडेको बताए।

उनले भने, “म तपाईहरु, सम्मानित इराकी जनताहरुलाई, भन्न चाहन्छु कि मलाई कुनै पद चाहिएको छैन्, तपाईंहरुको विश्वास नै मेरा लागि सबै कुरा हो।”

यसअघि संसदमा सबैभन्दा ठूलो गठबन्धनको नेता भएको हिसाबले आफूलाई सरकार बनाउने अधिकार दिइनुपर्ने उनले बताउँदै आएका थिए।

मलिकीका एकजना प्रवक्ताका अनुसार मलिकीले राष्ट्रपति फाउद मासुमले संविधान उल्लंघन गरेको भन्दै यसअघि दिन लागेको उजुरी पनि अब उनले नदिने भएका छन्।

यो राजनीनामासँगै उनको आठ बर्षे विवादित शासनकाल अन्त्य भएको छ।

उनको सरकारमाथि देशका सिया बाहुल्यलाई काखी च्यापेको आरोप लाग्ने गरेको छ।

चुनौती

तस्वीर कपीराइट AP
Image caption अमेरिकाले इस्लामीक स्टेट जीहादी संगठन बिरुद्ध हवाइ कार्वाही जारी राखेको छ

भावी प्रधानमन्त्री अबादी इराकका सबैभन्दा बरिष्ठ नेताहरु मध्ये एक हुन् र सन् २००३ मा निर्वासनबाट फर्किए यता उनले धेरै उच्च पदहरु सम्हालिसकेका छन्।

उनलाई कतिपयले मलिकिको दावा पार्टीका एकजना नरम नेताका रुपमा लिन्छन जो सम्झौताका लागि आफ्न पूर्ववर्ती भन्दा लचिलो हुन सक्छन्।

अबादीको अगाडि अब देशको ठूलो हिस्सा कब्जा गरेका इसलामिक स्टेट सम्बद्ध जिहादीहरु बिरुद्ध पुरा देशलाई पुन: एकताबद्ध बनाउने कठिन चुनौती छ।

स्वागत

पदबाट राजीनामा दिने इराकी प्रधानमन्त्रीको घोषणाको व्हाइट हाउसले प्रशंसा गरेको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहाकार सुजन राइसले भनिन्, सो कदमले इस्लामी स्टेट विद्रोहीहरु बिरुद्ध इराकीलाई एकताबद्ध बनाउनेछ।

इराकका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधि निकोलाई मलाडेनोफले मलिकीले राजनेताको व्यवहार देखाएको बताए।

यसअघि राष्ट्रपति ओबामाले अमेरिकी हवाई आक्रमणले हजारौँ याजिदीहरुले शरण लिएको सिन्जार पर्वतमा जिहादीहरुले कायम राखेको घेराबन्दी तोडिदिएको बताएका थिए।

इराकमा इस्लामिक स्टेट भनिने जिहादी संगठनका कारण देशको उत्तरी क्षेत्रमा सुरक्षा र मानवीय संकट बढ्दै गएको छ।

उक्त समूहका कारण उत्तरी इराक र सिरियाका कतिपय भुभाग नै कब्जामा लिएका छन् जसका कारण झन्डै १२ लाख इराकी विस्थापित भएका छन्।

संयुक्त राष्ट्रसंघले इराकमा ३ तहको आपतकाल घोषणा गर्दै त्यहाँ अहिलेसम्मकै सबैभन्दा उच्च स्तरको संकट आइपरेको घोषणा गरेको छ।