यजिदी हत्याबारे थप विवरण सार्वजनिक

  • 16 अगस्ट 2014
तस्वीर कपीराइट REUTERS
Image caption उक्त हमलामा थुप्रै महिला र बालबालिकाहरु पीडित बनिरहेका छन्।

इराकका निवर्तमान विदेश मन्त्री होश्यार जेब्बारीले ८० जना यजिदी पुरुषहरुको हत्याबारे थप विवरणहरु दिएका छन्।

जिहादी समूह इस्लामिक स्टेटले गरेको भनिएको उक्त हत्या, उत्तरी इराकको काउजूमा अमेरिकी विमानहरुले उक्त समूहविरुद्ध गरेको हवाइ हमलाको बदला जस्तो देखिएको जेब्बारीले बताए।

तर उक्त समूहले मोसुलको पश्चिममा पर्ने एउटा गाउंबाट महिला तथा बालबालिकालाई लिएर गएको भन्ने विवरणहरु भने आफूले पुष्टि गर्न नसक्ने बताए।

उक्त हत्याबारे शनिबार बिहानैदेखि विभिन्न माध्यमबाट समाचारहरु आए पनि उच्च इराकी अधिकारीहरुले पुष्टि गरिसकेका थिएनन्।

निशाना

जेब्बारीले उक्त घटनाको पुष्टि गर्दै इस्लामिक स्टेटले अमेरिकी हवाइ हमलाको बदला लिन ती यजिदी पुरुषहरुलाई निशाना बनाएको बताए।

अमेरिकी, मानवरहित विमान ड्रोनबाट गरिएको हमलामा इस्लामिक स्टेटका दुईवटा बख्तरबन्द गाडी ध्वस्त भएको विवरण आएका थिए।

ती पुरुषहरु मारिएको भनिएको स्थानबाट उम्केर भाग्न सफल भएका एक जना स्थानीयबासिन्दाले इस्लामिक स्टेटले मोसुलको पश्चिममा पर्ने तल अफार भन्ने गाउंबाट सबै महिला तथा बालबालिकालाई लिएर गएको बताए।

तर जेब्बारले भने त्यसको पुष्टि गरेनन्।

हमला

यसैबीच केही अपुष्ट खबरहरुका अनुसार मोसुलको एउटा मुख्य बाँध नजिकै विद्रोहीहरुलाई लक्षित गरी हवाइ हमला भएका छन्।

तर ती इराकी वा अमेरिकी विमानहरुले गरेको हो वा होइन भन्ने पुष्टि भइसकेको छैन।

मोसुलमा रहेका सूत्रहरुले बीबीसीलाई जनाएअनुसार उक्त हमलामा ११ जना उग्रवादी मारिएका छन्।

कुर्दिस फौजलाई उक्त बांधमाथि पुन नियन्त्रण जमाउन सहयोग गर्नका लागि उक्त हवाइ हमला भएको ठानिएको छ।

उत्तरी इराकको ठूलो भूभाग कब्जामा लिने क्रममा इस्लामिक स्टेटले उक्त बांध पनि आफ्नो नियन्त्रणमा लिएको थियो।