मेडिकल काउन्सिलको निर्णय कलेजद्वारा अवज्ञा

  • 17 अगस्ट 2014
तस्वीर कपीराइट medicalcollegesnepal.com
Image caption निजी मेडिकल कलेजको अनुगमनमा जोड दिनु पर्ने आवाज बेलबेला उठ्ने गरेको छ

चिकित्साक्षेत्रको निगरानी राख्ने निकाय नेपाल मेडिकल काउन्सिल र मेडिकल कलेज एवं स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुबीच विद्यार्थी भर्ना गर्ने विषयलाई लिएर विवाद चुलिएको छ।

स्नातकोत्तर तह एमडी/एमएसका लागि मापदण्ड नपुगेको भन्दै काउन्सिलले सिट संख्या कटौती गरिदिएका कलेज तथा प्रतिष्ठानहरुले यसपटक पनि पुरानै कोटा अनुसार धमाधम भर्ना लिएर पढाउन पनि थालिसकेका छन्।

काउन्सिलको निर्णय विरुद्ध अदालत गएका कलेज सञ्चालकहरुले काउन्सिल पूर्वाग्राही भएको भन्दै उसको निर्देशन नमान्ने बताएका हुन्।

आपत्ति

यसै शैक्षिक सत्रको सुरुवातमा कतिपय मेडिकल कलेजहरुको गुणस्तर कम भएको भन्दै नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्ना लिइने सिट संख्यामा कटौती गरेको थियो।

यसरी कटौती हुनेमा हाल सञ्चालित २१ वटा मेडिकल कलेजमध्ये स्नातकोत्तर तह पढाई हुने सबै जसो परेका थिए।

काउन्सिलको उक्त निर्णयविरुद्ध केही कलेजहरु अदालत पुगेका छन्।

तर उक्त मुद्दा विचाराधीन रहेको र साविक बमोजिमको सिटमा भर्नाका लागि स्वीकृति दिनु भन्ने कुनै आदेश पनि नभएको भन्दै काउन्सिलले मेडिकल कलेजहरुको पछिल्लो कदमप्रति सार्वजनिक सूचना निकालेरै आपत्ति जनाएको छ।

काउन्सिलका उपाध्यक्ष डाक्टर एई अन्सारीले भने, “उनीहरुको एक वर्ष नोक्सान हुन सक्छ। अर्को वर्ष फेरि सुरुबाट गर्नु पर्ने हुनसक्छ। उनीहरुले अदालतले अन्तिम फैसला सुनाएपछि मात्रै भर्ना लिनु पर्ने थियो। अहिले अटेर गर्ने मेडिकल कलेजहरुलाई अर्को वर्ष अनुगमनमा अझ कडाई गरिनेछ।”

अमान्य

मेडिकल कलेजहरुले भने पूर्वाग्रही ढंगले काउन्सिलले सिट संख्यामा कटौती गरेको आरोप लगाएका छन्।

स्नातकोत्तर तहमा सबै सिट संख्या कटौतीमा परेका कलेजमध्येको वीरगन्जस्थित नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्दिन अन्सारीले काउन्सिलको निर्णय आफूहरुलाई अमान्य हुने बताए।

उनले भने, “हामीले सिट बढाई पाउँ भनेर अनुरोध गरेका थियौं तर उहाँहरुले झन घटाएर सुन्यमा झारिदिनुभयो। काउन्सिलले जुन निर्णय गरेको छ यसलाई ऐनको रुपमा म चाहिं मान्दिन। हाम्रो ४२ वटा सिट थियो। विद्यार्थी भर्ना गरेर कक्षा सुरु गरिसकेका छौं।”

काउन्सिलले भने आफ्नो स्वीकृतिविना कलेजले गर्ने भर्नाले कुनै वैधता नपाउने हुनाले अभिभावक र विद्यार्थीलाई सचेत रहन आग्रह गरेको छ।