'विद्रोहीद्वारा याजिदी अल्पसंख्यको सामूहिक हत्या'

  • 16 अगस्ट 2014
तस्वीर कपीराइट AP
Image caption सुन्नी मुसलमान बाहेकका समुदाय लक्षित आक्रमणले विस्थापितहरुको समस्या विकराल बन्दैछ

उत्तरी इराकस्थिति उग्रवादीहरुले एउटा गाउँमा कम्तिमा ८० जना याजिदी समुदायका मानिसहरुको आमहत्या गरेको र महिला तथा केटाकेटीहरुको अपहरण गरेको समाचारहरुमा जनाइएको छ।

इश्लामिक स्टेटका लडाकूहरु सिन्जर शहरभन्दा ४५ किलोमिटर टाढाको कोछो गाउँ छिरेर मानिसहरुलाई इश्लाम धर्म परिवर्तन गर्न वा मारिन तयार हुन भनेका थिए।

शुरुमा ती घट्नाबारे वासिङ्गटनस्थिति याजिदि समुदायका अगुवाहरुलाई उद्धृत गर्दै समाचारहरु आएका थिए।

रक्तपात

कुर्द अधिकारीहरुले पनि उक्त घट्नाको पुष्टी गरेका छन्।

वरिष्ठ कुर्द अधिकारी होसियार जेबरीले समाचार संस्था रोयटर्सलाई भनेका छन्, "उनीहरु दिउँसो गाडीमा पुगे र त्यहाँका मानिसहरुको हत्या गर्न शुरु गरेका थिए।"

बाँचेकाहरुसँग कुराकानी गरेका भनिएका याजिदी सांसद महमा खलिलका अनुसार एकघण्टाभित्र ती सबैको हत्या गरिएको थियो।

उक्त गाउँ नजिकैका एकजना बासिन्दाले आफूलाई इश्लामिक स्टेटका स्थानीय लडाकूले उक्त रक्तपातको विस्तृत विवरण सुनाएको बताए।

उनका अनुसार ती लडकूले मार्नुअघि याजिदी समुदायका मानिसलाई आफूहरुले पाँच दिनसम्म धर्म परिवर्तन गराउने प्रयास गरेको र प्रवचन समेत दिएको बताएका थिए।

ती लडाकूले त्यसपछि मानिसहरुलाई एकठाउँमा भेला गराएर गोलि हानिएको जानकारी दिए।

बाध्य

अमेरिकास्थित एकजना याजिदी अगुवा र याजिदी संकट व्यवस्थापन समुहका सदस्य हादी पिर पनि हत्या गर्नु अघि उनीहरुलाई धर्म परिवर्तनको समयसीमा दिइएको बताउँछन्।

तस्वीर कपीराइट AFP
Image caption इराकमा बढ्दो हिंसाका माझ अमेरिकी हवाई हमला जारी राखेको छ

उनले गाउँलेहरुलाई त्यहाँको एकमात्र स्कूलमा भेला गराएर हत्या गरिएको बताए।

इश्लामिक स्टेटको नेतृत्वमा भएको हिंसाका कारण १२ लाख इराकी घर छाड्न बाध्य भएको अनुमान गरिएको छ।

याजिदी र क्रिश्चियन समुदायका सबै उत्तरी इराक छाड्न बाध्य बनाइएका छन्।

भाग्न बाध्य बनाइकाहरुमा इश्लामीक स्टेटले वास्तविक मुसलमान नमान्ने सीया समुदायका मानिसहरु पनि छन्।

गैर सुन्नी समुदायका मुसलमानहरु विरुद्धको इश्लामिक स्टेट संगठनको नृशंषताले अन्तर्राष्ट्रिय समुदायलाई स्तब्ध तुल्याएको छ।