बाढी प्रभावित मध्यपश्चिममा खोजीकार्य तीब्र

  • 17 अगस्ट 2014
तस्वीर कपीराइट NIRAJ SAHAI
Image caption सरकारले भोलिदेखि पीडितहरुलाई प्याकेजमा टेन्ट र ओढ्ने र ओच्छ्याउने प्याकेजमा बाँढ्ने बताएको छ

बाढीबाट सबैभन्दा प्रभावित मध्यपश्चिम क्षेत्रमा बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको अधिकारीहरुले बताएका छन्।

उनीहरुका अनुसार उक्त क्षेत्रमा बाढीले बगाएर एक सयभन्दा बढी बेपत्ता भएका छन् भने करिब ८० जनाको ज्यान गएको पुष्टि भइसकेको छ।

३० जनाको उपचार भइरहेको छ भने १ सय ५४ जना अझै वेपत्ता रहेको अधिकारीहरुले बताएका छन्।

भेरी नदीमा आएको बाढीका कारण सुर्खेत जिल्लाको हरिहरपुर, तरंगा, घाटगाउँलगायतका गाबिसमा सबैभन्दा बढी जनधनको क्षति भएको छ।

क्षति

कतिपय ठाउँमा अझै उद्धार र राहत पुग्न सकेको छैन।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले भने, "मरेको आशंका गरिएको ठाउँहरुमा मृतकहरुलाई उठाउन निकाल्न सकिएको छैन, त्यो पनि एकप्रकारको उद्धार नै हो। अरु जीबितहरु त कुनै न कुनै ठाउँमा सेल्टर लिएर बस्नुभा'छ। अहिले ३२ ठाउँमा जिल्लाभरि सेल्टरहरु छन्। त्यहाँ ५ हजार मानिसहरु बस्नुभएको छ र जसोतसो एकसरो खाद्य सामग्रीहरु पुर्याइएको छ।"

इतिहासमै नभएको घटना भएकोले सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्छ भन्दै सभासद् हृदयराम थानीले भने,"प्रमुख जिल्ला अधिकारी उधारो ल्याएर पनि वितरण गरेका छौं भन्नुहुन्छ, यसरी जनतालाई कति पुगेको होला?"

शनिबार दिउँसोदेखि वर्षात रोकिए पछि केही राहत भएको छ।

आग्रह

मुख्यरुपमा सुर्खेत, बर्दिया, दाङ, बाँके जिल्लामा केन्द्रीत भइ राहत र उद्धार गर्नुपरेको छ भन्छन् मध्य पश्चिम क्षेत्रका प्रहरी नायब महानिरिक्षक डिआइजी केशबहादुर शाही।

उनी भन्छन्"सबै ठाउँमा उद्धार गरेर राहत बाँड्न सक्ने स्थिति छैन। साउन ३० गतेदेखि बल्ल हामीले हेलिकप्टर प्रयोग गरेर राहत र उद्धार सुरु गर्न पाएका छौं।"

मध्य पश्चिम क्षेत्रका अधिकांश सडकहरु अबरुद्ध छन् भने गत तीन दिनदेखि अबरुद्ध भएको बत्ती खानेपानी टेलिफोन सहज बनाइदिन पनि सुर्खेतबासीले आग्रह गरेका छन्।

उक्त क्षेत्रसहित देशभरका प्रभावित ३६ जिल्लामा भने अहिलेसम्म करिब एक सय जनाको ज्यान गएको, झण्डै ४० जना घाइते भएको तथा करिब १ सय ३० जना बेपत्ता भइरहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

साउन २८ र २९ गते आएको अबिरल वर्षाका कारण बाढी र पहिरोमा परि सुर्खेतमा २८ जना बर्दियामा १६ जना, दांगमा १४ जना, बाँकेमा ५ जना र सल्यानमा गरि मध्यपश्चिम क्षेत्रका १० जिल्लामा ८९ जनाको ज्यान गएको छ।