बाँधमाथिको नियन्त्रण फिर्ता लिने प्रयत्न

  • 17 अगस्ट 2014
तस्वीर कपीराइट AP
Image caption इराकको मोसुल शहर नजिकै रहेको बाँध विद्रोहीको कब्जाबाट फुत्काउन अमेरिकाले हवाइ कारवाही गरेको छ

इराकको मोसुल शहर नजिकै रहेको देशको सबैभन्दा ठूलो बाँध विद्रोहीको नियन्त्रणबाट फर्काउन कुर्दिश फौजले संघर्ष गरिरहेको छ।

कुर्दिश फौजलाई सघाउन अमेरिकाले नौवटा हवाइ कारवाही गरेको जनाएको छ।

शनिबार विहानैदेखि एफ--१८ र मानव रहित विमान ड्रोनबाट आक्रमण गरिएको थियो ।

त्यहाँ स्थलगत आक्रमण पनि भएको अपुष्ट खबर छ।

नरसंहार

यसैबीच आइएसले थप मानिसहरु मारेका खबर आएका छन्।

यो ग्रीष्ममा मोसुल नियन्त्रणमा लिएको उग्रवादी सुन्नी समुहले इराक र सिरियाका क्षेत्र मिलाएर नयाँ राज्य बनाउन चाहिरहेको छ।

सोही समुहले सिन्जर नजिककैको गाउँमा शुक्रबार नयाँ आम नरसंहार गरेको हो।

उनीहरुमाथि इराक सिरिया सीमामा सातसय जना मारेको आरोप शनिबार लगाइएको थियो जसको स्वतन्त्र पुष्टी हुन सकेको छैन।

जर्मन विदेश मन्त्री फ्रान्क वाल्टर स्टेइनमेइरले पश्चिमा देशहरुले सहयोग बढाइरहका बेला इराकको भ्रमण गरेका छन्।

इरवील र मोसुल बाँधका निशानाहरुमा अमेरिकी केन्द्रीय कमाण्डले शनिबार नौवटा हवाइ कारवाही गरेको जनाएको छ।

ध्वस्त

त्यो कारवाहीमा विद्रोहीका कैयौं सशस्त्र सवारी साधनहरु ध्वस्त भएको अमेरिकी विज्ञप्तीमा जनाइएको छ।

तर हवाइ कारवाही गर्ने विमानहरु सबै सुरक्षित फर्केको बताइएको छ।

'रुड‍अ' भनिने कुर्दिश समाचार वेवसाइटले अमेरिकी हस्तक्षेपपछिको अहिलेसम्मको सबभन्दा ठूलो कारवाही भनेको छ।

मोसुलस्थित समाचार श्रोतका अनुसार कम्तिमा ११ जना आइएस लडाकुहरु मारिएका छन्।

अगष्ट सातमा विद्रोहीले नियन्त्रणमा लिएको बाँध पानी र उर्जा श्रोतका लागि रणनीतिक महत्वको ठानिन्छ।

मोसुल सहरबाट ५० किलोमीटर टाढा टीग्रीस नदीमा रहेको उक्त बाँध उत्तर इराकको ठूलो क्षेत्रको पानी र बिजुलीको श्रोत रहँदै आएको छ।