'बाढीपहिरो पीडितको राहत र उद्धारमा तीव्रता'

  • 19 अगस्ट 2014
Image caption बाढीपहिरो प्रभावित मानिसहरु घर फर्किन अझै केही समय लाग्ने अधिकारीहरुले बताएका छन्

राहत र उद्धार कार्य प्रभावकारी हुन नसकेको बाढीपहिरो प्रभावित कतिपय मानिसहरुको गुनासोमाझ सरकारी अधिकारीहरुले उक्त कार्यलाई जोडतोडका साथ अगाडि बढाईएको बताएका छन्।

उनीहरुका अनुसार केही क्षेत्रमा पीडितहरुलाई दाल, चामल लगायतका खाद्यान्नहरु वितरण गर्न थालिएको छ भने केही क्षेत्रमा बुधबारदेखि नियमित खाद्यान्न बाँडिनेछ।

गत एक सातायता बाढीपहिरोका कारण देशभर मृत्यु हुने मानिसहरुको संख्या १ सय १३ पुगेको केन्द्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रका अधिकारीहरुले अहिले आफूहरुको सम्पूर्ण ध्यान राहत र उद्धार कार्यमै केन्द्रित रहेको बताएका छन्।

बाढीबाट सबैभन्दा नराम्ररी प्रभावित सुर्खेतमा प्रभावित क्षेत्रहरुको अवस्था हेरी हेलिकप्टर र गाडीबाट राहत सामाग्री वितरण भईरहेको प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले बताए।

हाल विद्यालयहरुमा आश्रय लिईरहेका पीडितहरुलाई विभिन्न सहयोगी संस्थाहरुसँग मिलेर पाल उपलब्ध गराउने तयारी भईरहेको घिमिरेले जनाए।

खाद्यान्न

बाढी र डुबानका कारण बाँकेमा राप्ती नदी किनारका ९ वटा गाविस नराम्री प्रभावित बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

राहत र उद्धारसँगै बाढीका कारण भएका क्षति लगायतका विवरणहरु संकलन भईरहेको र पीडितहरुलाई बुधबारदेखि नियमित खाद्यान्न वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए।

उनले भने, ''तथ्यांकहरु निकाल्ने काममा छौं र राहत कार्य जोडतोडका साथ बढाईरहेका छौं। यो तथ्यांक आउने बित्तिकै संभवतः बुधबारदेखि नियमित खाद्यान्नहरु दाल, चामल, नुन, तेल दिने र गैरखाद्य सामानहरु भाँडाकुँडा तथा लत्ताकपडा लैजाने आन्तरिक तयारी गरिरहेका छौं।''

बबई नदीमा आएको बाढीले दाङका विभिन्न क्षेत्रमा सडक बगाएको छ।

राहत र उद्धारका कार्य जारी रहेपनि प्रभावकारी हुन नसकेको पीडितहरुले गुनासो गरेका छन्।

वृद्धवृद्धा

उनीहरुले अहिलेसम्म चिउरा जस्ता सुख्खा खानेकुरा मात्र पाउन सकेको बताएको त्यहाँबाट एकजना पत्रकार दुर्गालाल केसीले जनाएका छन्।

उनका अनुसार बाढीका कारण सबैभन्दा बढी महिला र वृद्धवृद्धाहरु मर्कामा परेका छन्।

उनले थपे, ''साना बच्चा भएका सुत्केरी महिलाहरु र वृद्धवृद्धाहरुको अवस्था निकै नाजुक छ। उनीहरुसँग ओढ्ने ओछ्याउने एकजोर लुगा पनि छैन्। उनीहरुले आफूहरुसँग कम्बल भइदिए हुन्थ्यो भनेका छन्। र, उनीहरुको मुख्य सरोकारको विषय भनेको दैनिक आवश्यकताका सामानहरु हुन भनेका छन्।''

बाढीपहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्नका लागि सरकारले सभासदहरुलाई ती क्षेत्रहरुतर्फ मंगलबार पठाएको छ।

स्थलगत अध्ययनपछि उनीहरुले राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समन्वय समितिलाई सुझाव दिने बताइएको छ।