चित्रकलाले भावी बौद्धिक क्षमता झल्काउने

  • 20 अगस्ट 2014
तस्वीर कपीराइट PA
Image caption तस्वीर बनाउने बिधिलाई बालबालिकाको स्वाभावको अध्ययन गर्न प्रयोग गरिदैँ आएको छ

बालबालिकाले चार बर्षको उमेरमा बनाउने चित्रले उनीहरु भविष्यमा कति सुझवुझपूर्ण हुन्छन् भनेर भविष्यवाणी गर्न सकिने एउटा अध्ययनले देखाएको छ।

अनुसन्धानकर्ताहरुले साढे सात हजार भन्दा बढी जुम्ल्याहाहरुलाई एउटा बच्चाको तस्वीर बनाउन लागाएर त्यसमा उनीहरुले टाउको, खुट्टा हात र पैताला बनाएको आधारमा अंक दिएका थिए।

उक्त अनुसन्धानले चित्र बनाउदाँ उच्च अंक ल्याउनेहरुको पछि गरिएको बुद्धिमता परिक्षण 'आइक्यु टेस्ट'मा बलियो पाइएको देखाएको छ।

चित्रकलाको क्षमता आणुवांशिक गुणले पनि निर्धारण गर्न सक्ने उनीहरुको ठहर छ।

अनुसन्धान

लन्डनको किङ्ग्स कलेजको इन्स्टीच्युट आफ साइकीयाट्रीकी डाक्टर रोसालिन अर्डेनको नेतृत्वको टोलीले बच्चाको चित्र बनाउने भन्ने विधिबाट ४ र १४ बर्षका बालबालिकामा उक्त अध्ययन गरेको हो।

आफ्नो निष्कर्षबारे अर्डेनले भनीन,“चित्रकला निक्कै प्राचीन व्यवहार हो जुन १५ हजार बर्ष भन्दा पहिले सुरु भएको थियो, चित्र बनाउन लगाएर हामी अरुको मस्तिस्कमा के छ भन्ने देखाउन खोजिरहेका छौँ।”

उनका अनुसार आकृतिहरुलाई पुर्ण बनाउने क्षमता विशुद्ध मानवीय गुण हो र लेखन जस्तै मस्तिस्कबाट नै विकास हुने क्षमताको संकेत हो जसका कारण मानव समुदाय सुचनाको भण्डारण गर्न र सभ्यताको विकास गर्न सफल भएको छ।

चार बर्षको उमेरमा बनाएको चित्रको एक दशकपछिको उमेरमा देखिने बौद्धिक क्षमतासँग अन्तर सम्बन्ध रहेको पाउँदा आश्चर्य लागेको अनुसन्धानकर्ताहरुले बताएका छन्।

बच्चाको तस्वीर बनाउने विधिलाई सन् १९२० यता कम उमेरका बालबालिकामा रहने ज्ञानको अवस्था मापन गर्न प्रयोग गरिदैँ आएको छ।

उक्त अन्तरसम्बन्ध मध्यमस्तरको भएको भन्दै अनुसन्धानकर्ताहरुले अभिभावकहरुलाई बच्चाले खराब चित्रकला नै बनायो भने नआत्तीन आग्रह गरेका छन्।

अणुवंश

उनीहरुले चित्र बनाउने क्षमताले नभई अणुवंशिक तथा वातावरणीय लगायत कैयौँ कारणहरुले बुद्धिको निर्धारण गर्ने धारणा राखेका छन्।

अनुसन्धानकर्ताहरुले बालबालिकाको चित्र बनाउने क्षमता जन्मदै लिएर आएका थिए कि भन्ने बारे पनि अध्ययन गरेका थिए।

उनीहरुले हूबहू उस्तै देखिने जुम्ल्याहा र फरक फरक देखिने जुम्ल्याहाहरुले बनाएको चित्रलाई एक अर्कामा तुलना गरेका थिए।

हुबहू एकै देखिनेहरुले बनाएको चित्र एक अर्कासँग बढी मिलेको देखिएकोले अनुसन्धानकर्ताहरुले चित्रकलाको क्षमतामा पनि केही अणुवंशिक सम्बन्ध हुनसक्ने निचोड निकालेका छन्।