क्षतिपूर्ति नपाएको पीडितहरुको गुनासो

  • 23 अगस्ट 2014
बाढीपीडितहरु
Image caption अधिकांश बाढीपीडितहरुले केही राहत पाएपनि क्षतिपूर्ति नपाएको गुनासो गरेका छन्

मध्यपश्चिम नेपालका बाढीपिडितहरुले केही राहत पाएपनि एक साता बित‌ीसक्दा पनि आफ्नो गुमेको धनजनको क्षतिपूर्ति पाउन नसकेको भन्दै दुखेसो पोखेका छन्।

साउन २९ गते राती मध्यपश्चिम नेपालको सुर्खेतमा आएको विनाशकारी बाढीमा आफ्नो घर र परिवारजन गुमाएका पिडित परिवारजनले सरकारबाट धेर-थोर राहत त पाएका छन्, तर एक साता बित‌ीसक्दा पनि आफ्नो गुमेको धनजनको क्षतिपूर्ति पाउन नसकेको भन्दै उनीहरुले दुखेसो पोखेका छन्।

गत साताको बाढी र पहिरोका कारण सुर्खेतमा मात्रै ३० जना भन्दा बढिको ज्यान गएको र करीब १०० जना बेपत्ता भएको अधिकारीहरुको भनाइ छ।

पाटीको बास

सुर्खेत पुगेका हाम्रा संवाददाताका अनुसार साउन २९ राती परेको मुसलधारे वर्षासँगै आफ्नो घरबास गुमाएका करीब सात हजार सुर्खेतवासीहरु अहिले नजिकैको विद्यालय वा पाटीमा बसी रहेका छन्।

सोही बाढीका कारण आफ्नी श्रीमती र नाती गुमाएका तल्लो पर्सेनीका ५६ वर्षिय मानध्वज बुढा राती नजिकैको विद्यालमा सुत्छन्।

तर दिउसो उनी आफ्नो भत्किएको घरको भग्नावशेषमा भेटिन्छन्।

श्रीमती उजेली र नाती कुबेरलाई गुमाएका मानध्वज बुढा त्यो कहालीलाग्दो कालो रात सम्झन चाहँदैनन्।

सरकारले भनेजस्तो राहत पाउनुभयो त भन्ने प्रश्नमा उनले भने, "बजारका ठूल्ठूला साहुहरुले चाउचाउ, चामल आदि दिए। सरकार पक्षले अहिलेसम्म हामीलाई केही दिएको छेन। पछि के हुने हो, कस्तो हुने हो?"

उनले घर भत्किएका र परिवारजन गुमाएका बाढी पीडितहरुलाई सरकारले दिने भनेको राहत रकम अझैसम्म नपाएको पनि बताए।

क्षतिपूर्तिको पर्खाइमा रहेका मानध्वज बुढा जस्ता सुर्खेतका बाढीपीडितले स्थानीय प्रशासन र रेडक्रसको सहयोगमा केही खानेकुरा, औषधि र लत्ताकपडा पाएका छन्।

तर सुर्खेतको नगर देखि गाउँ क्षेत्र सम्म छरिएका उनी जस्ता हजारौं बेघर मानिसहरुलाई बस्ने बास र आफ्नो भविष्यकै चिन्ताले सताएको छ।

'घर संसार'

१० वर्ष अघि सुर्खेत बसाइ सरि आएपछि मानध्वज बुढाले आफ्नो सानो घर र संसार बसाएका थिए।

तर गत २९ गते राती नजिकैको गेरुनी खोला बढ्दै गएपछि क्षणभरमै त्यो चकनाचुर हुन पुग्यो।

गत साउन २९ गते रातको मुसलधारे पानीले निम्त्याएको विनाश र विपदबारे मानध्वज बुढा जस्तै सुर्खेत उपत्यकामा माथि देखि तलै सम्म वियोग विनाश र विस्थापनका कथा व्यथा प्रशस्तै सुन्न पाइन्छन्।

साथसाथै कटानका कारण खहरे भासिएका, ससाना टहरा देखि ढलान गरिएका घरहरु आधा वा पुरै लडेका, छानाका टिनहरु बालुवाका बगरमा असरल्ल छरिएका दृश्यहरु पनि प्रशस्तै छन्।

भत्किएका संरचनाहरु त विस्तारै बन्लान्। तर परिवारजन गुमाएको घाउ कसरी पुरिएला?