रुसी सहायता "अतिक्रमण": युक्रेन

  • 22 अगस्ट 2014
रुसी मानवीय सहायता ट्रकहरु तस्वीर कपीराइट AFP
Image caption सहायता सामग्रीहरु पूर्वी युक्रेनको द्वन्द्वमा फसेका गैरसैनिकहरुका निम्ति भएको बताइएको छ

युक्रेनको सरकारले भनेको छ, विद्रोही नियन्त्रीत पूर्वी युक्रेनका गैरसैनिकहरुका लागि सहायता सामग्री बोकेका नब्बे वटा रुसी ट्रकहरु सीमा पार गरेर युक्रेनभित्र प्रवेश गरेका छन्।

ती ट्रकहरुको जत्था अब मस्को समर्थक विद्रोहीहरुको नियन्त्रणमा रहेको भूभागमा छन् र नियन्त्रणका लागि संघर्ष भैरहेको लुहान्स्क शहर तर्फ अघि बढ्दै छन्।

युक्रेनका सुरक्षा प्रमुखले उक्त घटनालाई रुसले गरेको अतिक्रमण भने, तर उनले ती ट्रकहरुलाई युक्रेनी सेनाले रोक्ने प्रयास नगर्ने र तिनीहरु विरुद्ध बल प्रयोग पनि नगर्ने बताए।

युक्रेनका एकजना वरिष्ठ सुरक्षा अधिकारीले रुसी सहायता बोकेका ट्रकहरु विना अनुमति आफ्नो सीमामा प्रवेश गरेको भन्दै रुसले युक्रेनमा अतिक्रमण गरेको आरोप लगाए।

सुरक्षा प्रमुख भ्यालेन्टिन नालिभेचेन्कोले भने, “हालैका दिनहरुमा हामीले युक्रेन विरुद्ध सुनियोजित र खतरनाक प्रकृतिका भड्काउने खाले गतिविधिहरु भैरहेको देखिरहेका छौं।

त्यस्तो कामका लागि प्रतिष्ठित रेडक्रसको अन्तर्राष्ट्रिय संगठनलाई समेत खुला रुपमा प्रयोग गरिंदैछ। तथाकथित मानवीय सहायता जत्था भन्दै त्यस्तो भडकाउने व्यवहार भैरहेको छ।“

तस्वीर कपीराइट AP
Image caption सहायता सामग्री बोकेका वाहनहरु लुहान्स्क पुगेका छन्

रुसले एकहप्ता भन्दा बढी समयदेखि सीमा क्षेत्रमा रोकिएका सहायता सामग्री सहितका ट्रकहरुलाई युक्रेन भित्र पठाउन आरम्भ गरेको छ।

आरोप

उसले युक्रेनलाई अनावश्यक अवरोध गरेको भनी आधिकारिक रुपमा नै आरोप लगाएको छ।

रुसले ती ट्रकहरुको जत्थालाई युक्रेन प्रवेशका लागि कियभको अनुमति कुर्दा कुर्दा आफूहरु थकित भएको जनाएको थियो।

उक्त सहायता सामग्री पूर्वी युक्रेनको युद्धग्रस्त क्षेत्रमा रहेका गैरसैनिकहरुका लागि पु-याउन लागिएको भनिएको छ।

ती ट्रकहरुको साथमा रहने भनिएको रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले आफू उक्त सवारी जत्थामा सामेल नरहेको जनाएको छ।

युक्रेन सरकारले उक्त राहत सामग्रीहरुबाट आफू विरुद्ध लडिरहेका विद्रोहीहरुलाई सहयोग पुग्ने आशंका व्यक्त गर्दै रेडक्रसले सहायता वितरणको जिम्मा लिइदिओस् भन्ने चाहेको थियो।

बीबीसीका सम्बददाता ड्यानिएल स्यान्डफोर्ड भन्छन्, अब ती सहायता ट्रकहरुका कारण रुसको युक्रेनसंगको सम्बन्ध झन खराब हुन सक्ने सम्भावना चर्को रहेको छ।

रेडक्रसको संलग्नता नहुने भएपछि युक्रेन सरकारले त्यसलाई मानवीय सहायता अभियान मान्न अस्वीकार गर्न पनि सक्दछ।

विवरणहरुका अनुसार ति ट्रकहरुलाई विद्रोहीहरुले सुरक्षा दिएर अघि बढाइरहेका छन्। अब त्यो सवारी जत्थालाई घेराबन्दीमा रहेको शहर लुहान्स्क नजीकै भैरहेको संघर्षको मोर्चामा रोकिने सम्भावना छ।

तस्वीर कपीराइट EPA
Image caption राहत सामग्री बोकेका २६० वटा ट्रकहरु सीमा क्षेत्रमा एकहप्ता भन्दा बढी समयदेखि रोकिएका थिए

आक्रमण

यदि उक्त सहायता जत्था युक्रेनको सरकारी सेनालाई छलेर अर्कै बाटोबाट अघि बढेमा त्यसमाथि भूलवश वा जानाजान नै आक्रमण समेत हुनसक्ने जोखिम पनि रहेको छ।

रुसी विदेश मन्त्रालयले ति ट्रकहरुको जत्थामाथि कुनै पनि कार्वाही नगर्न युक्रेनलाई चेतावनी दिएको छ।

कम्तीमा २६० वटा ट्रकहरु रहेको उक्त सहायता जत्था पूर्वी युक्रेनमा अतिक्रमण गर्ने रुसको विस्तारित योजनाको एउटा भाग भएको युक्रेनको आशंका छ।

रुसले लुहान्स्क र छिमेकको डोनेत्सकमा रहेका विद्रोहीहरुलाई तालिम र अस्त्र उपलब्ध गराएको भन्ने आरोपको खण्डन गर्ने गरेको छ।

त्यस क्षेत्रमा गत चार महिना देखिएको भिडन्ताका कारण दुई हजार जना भन्दा बढीको ज्यान गैसेकेको छ भने तीन लाख तीस हजार जना भन्दा बढी मानिसहरु आआफ्नो घर छाडी भाग्न बाध्य भएका छन्।