संविधानबारे धारणा बनाउन विपक्षी तयारी

  • 23 अगस्ट 2014
तस्वीर कपीराइट bbc
Image caption नेताहरुले संघर्षको पुर्व तयारीको रुपमा पनि गोष्ठी र अन्तरक्रिया गर्न लागेको बताएका छन्

एकीकृत माओवादीको नेतृत्वमा संविधानसभाभित्र रहेका पहिचान सहितको संघीयताका पक्षधर भनिएका सात दलहरुको मोर्चाले आफ्ना नेता तथा कार्यकर्ता राखेर संविधानका मूल विषयवस्तुबारे साझा धारणा बनाउन संयुक्त गोष्ठी तथा अन्तर्क्रिया थाल्दै छ।

शनिवार काठमाण्डौंमा गरिने गोष्ठी पश्चात देशैभरि कार्यक्रम गरेर अन्य दलहरुसंगको छलफलमा उक्त साझा धारणा राखिने मोर्चामा सामेल एक दलका नेताले बताएका छन्।

नयाँ संविधान बनाउने कार्यतालिका बमोजिम भदौ महिनाभित्रै संविधानसभाभित्र र बाहिर रहेका दलबीच मतभिन्नता रहेका विषयहरुमा सहमति कायम गरिसक्नु पर्नेछ।

उदेश्य

नत्र भने ती विमति मतदान मार्फतै भएपनि सल्टाएर असोजको अन्त्यसम्ममा त पहिलो मस्यौदा तयार पारिसक्नु पर्छ।

त्यसैको गृहकार्य गर्न वितेका केही दिनयता राजनीतिक दलहरुको विभिन्न तहमा सकृयता बढेको देखिन्छ।

सोही अनुरुप प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको संविधानसभाभित्रका सात दलहरुको मोर्चाले पनि आफ्नो साझा धारणा बनाउन भन्दै संविधानका विषयमा संयुक्त गोष्ठी थाल्न लागेको हो।

गोष्ठीको उद्देश्यबारे मोर्चामा सामेल सदभावना पार्टिका अध्यक्ष राजेन्द्र महतोले भने, "पहिले हामी सातदलमाझ अन्तर्क्रिया गरेर आफ्नो धारणा बनाउने, आफ्ना कार्यकर्ता अनि देश दुनियाँलाईपनि बताउने अनि एउटा मानसिकता तयार गर्ने हाम्रो उद्देश्य हो। पछि त्यो अनुसार भएन भने जनता माझ जानुपर्ने र संघर्ष गर्नुपर्ने हुनसक्छ। ती सबको पूर्व तयारी हो।"

मोर्चा गठन

उनका अनुसार आज काठमाण्डौंबाट शुरु हुने त्यस्तो गोष्ठी प्रारम्भिक चरणमा सात विभिन्न जिल्लामा गरिनेछन् र पछि देशैभरि गरिने छन्।

यी सब कार्य संविधानसभाको कार्यतालिकालाई भ्याउने गरेर नै आयोजना हुने उनको भनाई थियो।

खासगरी दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले पहिलो र दोस्रो स्थान पाएपछि पहिचान सहितको संघीयता पक्षधर भनिएका दलहरुले आफ्नो स्वर बलियो बनाउन एकीकृत नेकपा माओवादीको नेतृत्वमा उक्त मोर्चा गठन गरेका हुन्।