'मिसराता ब्रिगेडद्वारा ट्रिपोली विमानस्थल कब्जा'

  • 24 अगस्ट 2014
ट्रिपोली विमानस्थल नजीकैको दृश्य तस्वीर कपीराइट EPA
Image caption ट्रिपोली विमानस्थललाई नियन्त्रणमा लिन परस्पर विरोधी उग्रवादीहरुबीच लडाईं भैरहेको थियो

मिसराताबाट आएका इस्लामवादी उग्रवादी तथा तिनका सहयोगीहरुले ट्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कब्जा जमाएपछि लिबियाको नयाँ संसदले त्यसको निन्दा गरेको छ।

झण्डै एक महिना लामो लडाईं पछि मिसराता ब्रिगेड भनिने उग्रवादीहरुले ट्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कब्जा जमाएका छन्।

यसअघि उक्त विमानस्थलमा जिन्तान मिलिसिया भनिने लडाकुहरुले कब्जा जमाएका थिए।

नियन्त्रण

ट्रिपोलीस्थित बीबीसीकी संवाददाता राना जवाद भन्छिन्, गएको तीन वर्षमा उग्रवादीहरुका परस्पर विरोधी गुटहरुले उक्त विमानस्थललाई पटकपटक आफ्नो नियन्त्रणमा लिएका छन्।

लडाईंकै कारण लिबियाको सबैभन्दा ठूलो उक्त विमानस्थल गएको एक महिनादेखि बन्द थियो।

गत जुलाई महिनामा राजधानी ट्रिपोलीमा भीडन्त शुरु भएयता सैयौंको ज्यान गैसकेको छ।

उक्त विमानस्थलमा लाखौं डलर बराबरको क्षति पुगेको छ।

इस्लामवादीहरुको विरोध गर्ने लिबियाको नयां संसदले विमानस्थलमाथि नियन्त्रण जमाउने उग्रवादीहरुलाई आतंककारी भन्दै उनीहरुको निन्दा गरेको छ।

तर गठबन्धनका एकजना प्रवक्ता अहमद हदियाले भने, “मिसराता ब्रिगेड अन्तर्गत रहेका विद्रोही सैन्यहरु राष्ट्रिय संसदको तत्काल बैठक बसालेर देशको मर्यादाको रक्षा गर्न र सन् २०११ मा भएको क्रान्तिका उपलब्धिहरु जोगाउन माग गर्दछन्।“

लिबियाका मुख्य शहरहरुमा हिंसा जारी रहेकाले तोब्रुक शहरबाट काम सन्चालन गरिरहेको नयां संसदले विद्रोही लडाकुहरुलाई तिनका संगठन भङ्ग गरी राष्ट्रिय सेनामा सम्मिलित हुन फेरि आह्वान गरेको छ।

तर अहिलेसम्म कुनै पनि समूहले निशस्त्र बन्ने इच्छा देखाएका छैनन्।

ट्रिपोलीमा जारी भीडन्तका कारण कैयौं सर्वसाधारणको ज्यान गएको छ।

क्षति

कतिपयका घरहरुमा रकेट बज्रंदा धनजनको ठूलो क्षति भएको छ।

लिबियाका विमानस्थलहरु, तेल केन्द्रहरु र अरु महत्वपूर्ण संस्थानहरु परस्पर विरोधी मिलिसियाहरुको नियन्त्रणमा रहेका छन्।

लिबियाली सेनाका भूतपूर्व प्रमुख जनरल खलिफा हफ्तरप्रति वफादार लडाकुहरुलाई जिन्तानी फोर्स पनि भनिन्छ।

देशको पूर्वमा उनीहरुको नियन्त्रण रहेको छ।

पूर्वी तटवर्ती शहर बेनगाजीमा पनि भीडन्त भैरहेको छ।

हाम्री संवाददाता भन्छिन्, कर्णेल गद्दाफीलाई सत्ताच्युत गरेर हत्या गरिएको तीन वर्षपछि पनि देशको ठूलो भूभागमा नियन्त्रण जमाएका मिलिसियाहरुका सामु राष्ट्रिय सेना र प्रहरी संगठन कमजोर देखिन्छन्।