फ्रान्सेली मन्त्रिपरिषदद्वारा राजीनामा

  • 25 अगस्ट 2014
पूर्व मन्त्रीहरु
Image caption विघटित सरकारका अर्थ तथा शिक्षा मन्त्रीहरुले आफ्नै सरकारका नीतिहरुको आलोचना गरेका थिए

आफ्नै दुईजना मन्त्रीहरुले सरकारको आर्थिक नीतिहरुको सार्वजनिक आलोचना गरेपछि फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाण्डले सरकारलाई विघटन गरीदिएका छन्।

आफ्नेा दल सोसलिस्ट पार्टी र आफ्नो व्यक्तिगत लोकप्रियतासमेत खस्कँदै गएका बेला उनले त्यस्तो निर्णय लिएका हुन्।

राष्ट्रपति ओलाण्डको निर्देशन बमोजिम प्रधानमन्त्री म्यानुअल भाल्सले पुरै मन्त्रिपरिषदले राजीनामा दिएको घोषणा गरेका थिए।

आदेश

त्यस लगत्तै राष्ट्पतिले उनलाई मंगलबारसम्ममा नयाँ मन्त्रिपरिषद बनाउन आदेश दिएका छन्।

अर्थ मन्त्री अर्नोद मन्टबो तथा शिक्षा मन्त्री बेनोइट हेमोनले उनीहरुको पद गुमाउने अपेक्षा गरिएको छ।

ती दुबैले जर्मनीले लागू गरेकोजस्तो आर्थिक अनुशासनको अवज्ञा गरेर फ्रान्सले अर्थतन्त्रमा न्यून वृद्धिको समस्यासंग जुध्नुपर्ने बताएका थिए।

विघटित सरकारका अर्थमन्त्री अर्नोद मोन्टेवोले भने, "अर्थतन्त्रलाई पुन: गति दिने, फेरि आर्थिक वृद्धिको बाटोमा फर्कने, पूर्ण रोजगारीको स्थिति ल्याउने वाचा पुरा भएको छैन। हामीहरुले इमान्दार भएर यो कुरा स्वीकार्नु पर्छ र भन्नुपर्दछ। अर्थमन्त्रीको भूमिका भनेको वैकल्पिक उपायहरु प्रस्ताव गर्नु पनि हो।"

तर प्रधानमन्त्री भाल्सले वामपन्थी अर्थमन्त्री मोन्टेवोले आफ्नो मर्यादा नाघेको आरोप लगाए।

कठिन स्थिति

पेरिसस्थित हाम्री संवाददाता लुसी विलियमसन भन्छिन्, राष्ट्रपति ओलाण्डले अर्थतन्त्र कठिन स्थितिबाट गुज्रीरहेको अहिलेको अवस्थामा उनले आफ्नो दलभित्रबाट कुनै पनि किसिमको आलोचना नसहने स्पष्ट सन्देश दिएका छन्।

फ्रान्समा बेरोजगारी दर अहिले १० प्रतिशतभन्दा बढी छ र अर्थतन्त्र गतिहीन छ। हालैका मत सर्वेक्षणहरुले फ्रान्सका २० प्रतिशतभन्दा पनि कम मतदाताहरुले राष्ट्पतिले अर्थतन्त्रमा सुधार ल्याउनसक्ने अपेक्षा गरेको देखाएका छन्।

राष्ट्रपति ओलाण्डले सार्वजनिक खर्च कटौती गर्ने र व्यापारव्यवसायलाई कर छुट दिने योजना बनाएका छन्, तर उनकै दलका कतिपय सदस्यहरु त्यस्तो नीतिप्रति असहमत छन्।

उनीहरु खर्च कटौतीमा बढी ध्यान दिनुको सट्टा सर्वसाधारणलाई फाइदा पुग्ने गरी सिधै खर्च गरियोस् भन्ठान्छन्।

तर आफ्नो लोकप्रियता सबैभन्दा न्यून विन्दुमा पुगेको बेला राष्ट्रपति ओलाण्ड कमजोर देखिन चाहँदैनन्।

यसै महिनाको शुरुमा फ्रान्स सरकारले एक प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न पनि असंभव भएको बताएको थियो।

विपक्षी नेताहरुले चाहिं सरकार गम्भीर राजनीतिक संकटबाट गुज्रीरहेको बताउँदै त्यसबाट पुरै मुलुक कमजोर भैरहेको आरोप लगाएका छन्।