‘पहिरोका कारण व्यापार ओरालोतिर’

  • 26 अगस्ट 2014
तस्वीर कपीराइट Getty
Image caption नयाँ मालसामान आयात हुन नसक्दा व्यापारीहरुले मौज्दातमै रहेको पुराना सामानहरु बेचिरहेका छन्

सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोका कारण सामान बोकेका हजारौं कन्टेनर अरनिको राजमार्ग तथा तिव्वतका विभिन्न ठाउँहरुमा रोकिएपछि चिनियाँ नाका हुंदै नियमित काठमान्डू भित्रिने सामाग्रीको अभाव देखिन थालेको व्यापारीहरुले बताएका छन्।

केही पुराना सामानहरुको मौज्दात रहेपनि नयाँ लत्ताकपडा जस्ता वस्तु नभित्रिएका कारण चाडवाडको मुखमा व्यापारमा नकारात्मक प्रभाव परेको उनीहरुले गुनासो गरेका छन्।

सरकारी अधिकारीहरुले भने एक हप्ताभित्रै पहिरो गएको ठाउँबाटै कन्टेनरहरु आवागमन हुने गरि ‘ट्रयाक’ (बाटो) खोल्ने प्रयास भइरहेकाले उक्त समस्या हल हुने आशा व्यक्त गरेका छन्।

छटपटी

काठमाण्डूको महावौद्धस्थित राजु श्रेष्ठको जुत्ता चप्पलको होलसेल पसलमा पुग्दा उनी मौज्दातमा रहेका पुराना सामानको गन्ति गर्न व्यस्त थिए।

महावौद्ध तिव्वतको तातोपानी नाका हुदै नेपालमा खपत हुने लताकपडा, जुत्ता चप्पल लगायतका उपभोग्य वस्तुहरुको थोक विक्री हुने ठाउँ हो।

उनले भने, “व्यापार धेरै हुदैन, खाली नयाँ सामान मात्रै माग्छन्। बाटो बिग्रिएकोले नयाँ सामान आएकै छैन। नयाँ डिजाइनहरुको माग छ तीज, दसै र तिहारले गर्दा। त्यसैले उपत्यका बाहिरबाट पनि खुद्रा व्यापारीहरु सामान लिन आउदैनन्।”

सामान रोकिदा हजारौ थोक तथा खुद्रा व्यापारीहरु राजु श्रेष्ठ जस्तै छटपटिएका छन्।

अवस्था

मुखमै आएको तीज, नजिकिदै गरेको दशै तिहार जस्ता चाडपर्वलाई लक्षित गरेर ल्याइएका सामानहरु पहिरोका कारण अड्किएपछि काठमाण्डू तथा अन्य शहरहरुमा सामानको अभाव हुने र मूल्यमा अत्यधिक उतारचढाव आउन सक्ने चिन्ताले धेरैलाई सताएको देखिन्छ।

धेरै व्यापारीहरुको लगानी त्यही अड्किएको र उक्त सामान हालको चाडमा बिक्री गर्न नसकिए लामो समय कुरेर मात्रै बिक्री गर्न सकिने व्यापारीहरु चिन्तित भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष निलकण्ठ चौलागाईले बताए।

उनले भने, “पाँच छ सय ट्रकहरु लोडिङ भएर बसेका छन्। हजारौं ट्रकहरु कुनै खासाको गोदाममा र कुनै ल्हासाको गोदाममा राखिएको छ। अरबौं रुपैयाँ बराबरको सामान त्यसरी अड्किएको छ।”

चाडवाडमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै साविककै बाटोबाट रोकिएका कन्टेनरहरु ल्याउन चारदिनदेखि काम भइरहेको बताइएको छ।

‘ट्रयाक खुल्छ’

अवरोध नभए एकहप्तामा कन्टेनरहरु आउनसक्ने गरी बाटो खोल्न सकिने सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए।

उनले भने, “एक हप्ताभित्र सक्ने लक्ष्य लिएका छौं। तर मौसम साह्रै प्रतिकुल भयो भने केही भन्न सकिदैन। मौसम सामान्य भए, ट्रयाक खुल्छ, गाडी चल्छ।”

साविकको बाटो खुलाउने प्रयास बाहेक नेपाली सेनाले लामोसाँघु हुदै बाह्रविसे निस्कने बाटोको निर्माण पनि गरिरहेको छ।

सिन्धुपाल्चोकको जुरेस्थित सुनकोशी नदीमा तीन साताअघि पहिरो जाँदा १६५ जनाको मृत्यु भएको थियो भने त्यस यता यातायात अवरुद्ध हुदै आएको छ।