युक्रेन संकटबारे क्षेत्रिय सम्मेलन शुरु

  • 26 अगस्ट 2014
तस्वीर कपीराइट AFP
Image caption पटक-पटकको वार्ता प्रयासका बावजुद पूर्वी युक्रेनमा जारी संघर्ष रोकिन सकेको छैन

आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगै एउटा सम्मेलनमा मंगलबार सहभागीता जनाईरहेका युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्कोले उक्त सम्मेलनले युरोप र युक्रेनको भाग्य निर्धारण गर्ने बताएका छन्।

पूर्वी युक्रेनमा जारी संघर्षको समाधान खोज्ने प्रयासस्वरुप शुरु भएको उक्त सम्मेलनमा क्षेत्रिय नेता र युरोपेली संघका नेताहरुको पनि सहभागीता छ।

सम्मेलन शुरु हुनुअघि पोरोशेन्को र उनका रुसी समकक्षी पुटिनले एकअर्कासँग हात मिलाएका थिए।

सम्मेलनमा पुटिनले युक्रेनमा जारी संकटको समाधान थप सैन्य कारवाहीबाट वा युक्रेनको रुसी भाषी पूर्वी क्षेत्रका प्रतिनिधीहरुसँग संवाद बिना हुन नसक्ने बताएका छन्।

संकट

उनले युक्रेनको अहिलेको संकटबारे विचारहरु आदानप्रदान गर्नका निम्ति आफूहरु तयार रहेको जनाए।

पुटिनले रुसी नेतृत्वको कस्टम युनियन र युक्रेनबीच सहकार्य बढाउन चाहेको पनि बताए।

तर युक्रेनको युरोपेली संघसँगको सहमति कार्यान्वयन भएपछि त्यो लागु हुनेमा उनले आशंका व्यक्त गरेका छन्।

पोरोशेन्कोले भने शान्तिका लागि सबै विकल्पबारे छलफल गर्नका निम्ति आफू तयार रहेको बताएका छन्।

यसअघि रुसले युक्रेनमा पक्राउ गरिएका आफ्ना सैनिकहरु गल्तीले युक्रेनी सीमामा प्रवेश गरेको बताएको थियो।

पक्राउ

मस्कोले सीमाङकन नगरिएको क्षेत्रमा गस्ती गरिरहेका आफ्ना सैनिकहरुले आफूहरु युक्रेनी भूभागमा प्रवेश गरेको पछिमात्र थाहा पाएको जनाएको छ।

युक्रेनले भने रुसी सीमाभन्दा २० किलोमिटर वर भेटिएका ती सैनिकहरु विशेष अभियानमा रहेका बेला पक्राउ गरिएको बताएको छ।

उनीहरुले आफूहरुलाई युक्रेननै पठाइएको स्वीकार गरेको भिडियो फुटेजहरु युक्रेनी टेलिभिजनले देखाएका थिए।

त्यसमध्ये एकजनाले यो आफूहरुको लडाई नभएको भन्दै रुसी सैनिकलाई नपठाउन भनेको फुटेजमा देखिन्थ्यो भने अर्का मानिसले आफूहरुलाई बित्थामा शिकार बनाउन पठाइएको भनेको देखिएको थियो।