छोरा रिहा गरिदिन आईएससँग आग्रह

  • 28 अगस्ट 2014
तस्वीर कपीराइट Reuters
Image caption स्टेभन सटलफ अघिल्लो बर्ष सिरियाबाट हराएका थिए

अमेरिकी पत्रकार जेम्स फोलीको हत्याको भिडियोमा देखाइएका अर्का बन्धक पत्रकार स्टेभन सटलफकी आमाले आफ्नो छोराको प्राण रक्षाको अपिल गरेकी छिन्।

शार्ली सटलफले उक्त जिहादी संगठनका प्रमुख अबु बकार अल बग्दादीलाई एउटा भिडियो मार्फत सिधै सम्बोधन गर्दै आफ्नो पीडा व्यक्त गरेकी हुन्।

अघिल्लो बर्ष सिरियाबाट हराएका पत्रकार सटलफलाई केही दिन अमेरिकी पत्रकार फोलीको बीभत्स हत्याको भिडियोमा सार्वजनिक गरिएको थियो।

सो भिडियोमा इस्लामिक स्टेट संगठनले स्टेभनको जिन्दगी राष्ट्रपति बाराक ओबामाको भावी कदममा निर्भर रहने बताएको थियो।

अपिल

अमेरिकाले हालै इराकमा रहेको इस्लामिक स्टेटका निशानाहरुमा दर्जनौँ हवाई आक्रमणहरु गरेको छ।

आफ्नो भिडियो सन्देशमा श्रीमती सटलफले तानाशाहहरुका कारण दुख खेपिरहेका मुसलमान समुदायका समाचार ल्याउन आफ्नो छोरा मध्यपूर्व गएको बताएकी छिन्।

उनले भनेकी छिन्, “स्टेभनसँग अमेरिकी सरकारका गतिविधि नियन्त्रण गर्ने क्षमता छैन्, उ एउटा निर्दोष पत्रकार हो, मैले सधैँ थाहा पाएको छु कि खालिफको रुपमा तपाईँहरु माफी दिन सक्नुहुन्छ, त्यही भएर कृपया विन्रमतापूर्वक मेरो बच्चालाई रिहा गरिदिनुस्।"

उनले पैगम्बर महमदले देखाएको उदाहरण प्रति सम्मान गर्न पनि आफ्नो छोरालाई रिहा गर्न अनुरोध गरेकी छन्।

चेतावनी

यसअघि स्टेभनको अपहरणबारे खासै विवरण बाहिर आएको थिएन किनभने इस्लामिक स्टेटका उग्रवादीहरुले उक्त घटना सार्वजनिक भए उनी मारिने चेतावनी उनकी आमालाई दिएका थिए।

तर अघिल्लो हप्ता पत्रकार जेम्स फोलीको टाउको छिनाएर हत्या गरिएको भिडियोको अन्त्यमा उनलाई देखाइएको थियो।

अनुहारमा मास्क लगाएर फोलीको टाउको काट्ने एक जना जिहादीले यो अमेरीकी नागरिकको भविष्य ओबामाको अर्को निर्णयमा भर पर्नेछ भनेको देखाइएको थियो।