युक्रेन हिंसाको मुख्य कारक रुस: ओबामा

  • 29 अगस्ट 2014
तस्वीर कपीराइट c
Image caption नेटोले अन्तरिक्षबाट लिइएको तस्विरमा एक हजार बढि रुसी सैनिक युक्रेनभित्र रहेको देखिएको हो

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पूर्वी युक्रेनमा जारी हिंसामा रुस जिम्वेवार रहेको आरोप लगाएका छन्।

व्हाइट हाउसमा बोल्दै उनले युक्रेनी द्वन्द आन्तरिक नभइ मस्कोबाट आयतित भएको बताए।

यसअघि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)लो झन्डै एक हजार सैनिकहरुले पृथकतावादीहरुसँग मिलेर युक्रेनी फौजहरुसँग लडिरहेको बताएको थियो।

आफूमाथी लगाइएका पछिल्ला आरोपहरु रुसले अस्वीकार गरेको छ।

चेतावनी

राष्ट्रपति ओबामाले रुसी सैनिक युक्रेनमा रहेका नयाँ तस्विरहरु सार्वजनिक भएपछि युक्रेनमा भैरहेका रुसी गतिविधी जगजाहेर भएको बताए।

उनले भने, “रुसकै कारण हिंसा बढिरहेको छ, पृथकतावादीहरुलाई रुसले तालिम दिइरहेको छ, उनीहरुलाई रुसले हतियार दिइरहेको छ र पैसा उपलब्ध गराइरहेको छ।”

शितयुद्ध यता रुस सबैभन्दा बढि एक्लिएको भन्दै उनले त्यहाँबाट पूजीँ पलायन भएको र अर्थतन्त्र ओरालो लाग्दै गएको बताए।

पछिल्ला घटनाक्रमका लागी अब उसले मस्कोले थप मूल्य चुकाउनुपर्ने उनले चेतावनी ओबामाले दिएका छन्।

यसअघि उतर एटलान्टिक सन्धि संगठन नेटोले झन्डै एक हजार रुसी सैनिकहरु पृथकतावादीहरुको पक्षमा पूर्वी युक्रेनमा लडीरहेको बताएको थियो।

उक्त सैन्य उपस्थितीलाई उसले युक्रेनमा मस्कोको सैनिक संल्गनतामा उल्लेख्य वृद्धी भनेको थियो।

विवाद

युक्रेन संकटबारे छलफल गर्न न्युयोर्कमा राष्ट्रसंघिय सुरक्षा परिषदको आपतकालीन बैठक बसेको थियो जसमा राष्ट्रसंघका लागी अमेरिकी राजदुतले आफ्नो संल्गनताबारे नढाँटन मस्कोको ध्यानाकर्षण गराइन्।

तर रुसी राजदुतले सार्वभौम देशहरुको मामीलामा हस्तक्षेप नगर्न वासिङटनलाई आग्रह गरेका थिए।

चार महिना यता युक्रेनमा भएको लडाँइमा २१ सय १९ जनाको निधन भएको छ।

जर्मन च्यानस्लर एङगेला मर्केलले रुसलाई गरिने थप कार्वहीबारे युरोपेली संघको शनिबार बस्ने शिर्ष बैठकमा छलफल हुने बताएकी छन्।

मस्कोको बचाउ गर्दै इयुका लागी रुसी प्रतिनिधि भ्लादिमिर चिजहोभले भने, “जसले ढाँटिरहेका छन् उनीहरु युक्रेनी सरकारका प्रतिनिधी हुन् किनभने जे जस्ता आरोपहरु सुनिएका छन् ती सबै गलत हुन्।”

खोजी

यसैबिच रुसबाट प्राप्त खबरहरुका अनुसार कोस्टरोमा शहरमा रहेको सैनिक अड्डा बाहिर भेला भएका रुसी सैनिकहरुका कयौँ आफन्तहरुले आफ्नो नातापर्ने सैनिकहरु अवस्थाबारे जानकारी माग गरिरहेका छन्।

रुसी अधिकारीहरुले ती सैनिकहरु तालिममा गएको जवाफ उनीहरुका आफन्तहरुलाई दिएका छन्।

यसै हप्ताको सुरुमा युक्रेनमा कब्जा भएका दश जना रुसी सैनिक उक्त ब्यारेकका थिए।