‘ब्रिटेनमा आक्रमणको जोखिम गम्भीर’

  • 30 अगस्ट 2014
तस्वीर कपीराइट Getty
Image caption प्रधानमन्त्री क्यामरनले इश्लामवादी कट्टरपन्थीका गतिविधिको सबैले भर्त्सना गर्नु पर्ने बताए

ब्रिटिस सरकारले आफ्नो देशमा हुनसक्ने आतंकवादी आक्रमणको खतरा बढेर गम्भीर बनेको घोषणा गरेको छ।

सुरक्षाको दृष्टिले खतरा माथिल्लो दोश्रो तहमा पुगे पनि आक्रमण भइहाल्ने कुनै प्रमाण भने नभेटिएको गृहमन्त्रालयको भनाई छ।

ब्रिटेनमा आतंकवादी आक्रमणको जोखिमलाई पाँच तहमा वर्गिकरण गरिएको छ।

गृह-मन्त्रालयका अनुसार पहिलो उच्च तहले आक्रमण हुने निश्चित रहेको जनाउँछ।

विषालु सिद्धान्त

दोश्रो तहका अनुसार आक्रमण निश्चित त हुँदैन तर कुनै पनि बेला हुन सक्ने ठूलो जोखिम रहन्छ।

तस्वीर कपीराइट
Image caption खासगरी विद्रोहीहरुको बलियो पकड रहेको उत्तरी इराक हिंसाको चपेटामा छ

अहिले सुरक्षा खतरा त्यही स्थितिमा देखिएको गृहमन्त्रालयको भनाई छ।

प्रधानमन्त्री डेभिड क्यामरनले भने, “सुरक्षा चुनौतिको मूल कारण प्रष्ट छ। त्यो इश्लामवादी उग्रवादी विषालु सिद्धान्तको करण हो। जसको सबै धर्म-आस्था र तीनका अगुवा नेताहरुले भर्त्सना गर्नु पर्छ।”

ब्रिटेनले खतराको कारक खासगरी सिरिया र इराकमा बढ्दै गएका कट्टरपन्थी इश्लामवादी संगठनका गतिविधिलाई ठम्याएको छ।

प्रधानमन्त्री क्यामरनले भने, “इराकमा इश्लामिक स्टेट संगठनबाट जे सामाना गरिँदै छ। त्यो हाम्रो सुरक्षाको निम्ति यसअघि हामीले देखेकोभन्दा गम्भीर र ठूलो खतरा बनेको छ।”

नयाँ कानुन

उनका अनुसार ब्रिटेनबाट करिव ५०० सयजना सिरिया र इराक गएका छन्।

त्यस तर्फ लक्षित गर्दै उनले नयाँ कानुन बनाउने प्रतिवद्धता जनाएका छन्।

उक्त कानुनले लडाई लड्न विदेश गएकाहरुको पासपोर्ट जफत गर्न थप सजिलो बनाउने अधिकारीहरुको आशा छ।

शाही विशेषाधिकार अन्तर्गत अहिले पनि सार्वजनिक हितका निम्ति कुनै पनि व्यक्तिको विदेश यात्रामा गर्न रोक लगाउन उसको पासपोर्ट कब्जा गर्न सक्ने अधिकार गृहमन्त्रीसँग छ।

सन् २०१३ को अप्रिलदेखि अहिलेसम्म उक्त अधिकार संदिग्ध आपराधिक र आतंकवादसँग सम्बन्धित रहि विदेश भ्रमणमा जान लागेकालाई रोक्न २३ पटक प्रयोग भएको छ।