युरोपेली आयोगको चेतावनी

  • 30 अगस्ट 2014
तस्वीर कपीराइट Getty
Image caption युरोपेली संघका नेताहरुले रुस विरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन्।

युरोपेली आयोगका अध्यक्ष जोजे मनवेल बरोजुले युक्रेन र रुसबीचको तनाव बढ्दै गए फर्कन नसक्ने विन्दुमा पुग्नसक्ने चेतावनी दिएका छन्।

युक्रेनी राष्ट्रपति पेत्रो पोरोसेन्कोसंग ब्रसेल्ससमा भेटवार्तापछि बोल्दै उनले त्यसो भनेका हुन्।

पोरोसेन्कोले युक्रेनी सिमानाभित्र हजारौं विदेशी सेना र सैयौं रुसी ट्यांकहरु रहेको बताए।

रुसमाथि थप कडा प्रतिबन्धहरु लगाउनेबारे छलफल गर्न ब्रसेल्ससमा डाकिएको एउटा महत्वपूर्ण बैठक अघि युरोपेली नेताहरुबाट कडा टिप्पणी आइरहेका छन्।

चेतावनी

युक्रेनी राष्ट्रपति पेत्रो पोरोसेन्कोसंगको भेटेपछि युरोपेली आयोगका अध्यक्ष बरोजुले भने, “म के विश्वास गर्छु भने यो द्वन्द्व बढ्न नदिनका लागि सबैले सक्दो प्रयास गर्नुपर्छ। यो द्वन्द्व युक्रेनको मात्रै होइन रुस र समग्र युरोपकै हित प्रतिकूल छ।”

पोरोसेन्कोले पनि, उनकै शब्दमा, युक्रेन सैनिक हस्तक्षेप र आतंकको शिकार भएको टिप्पणी गरे।

रुसतर्फ इंगित गर्दै उनले त्यसमा हजारौं विदेशी सैनिक र सैयौं विदेशी ट्यांकहरु संलग्न रहेको बताए।

प्रतिवन्ध

बैठकमा भाग लिन ब्रसेल्स जानुअघि फ्रान्सेली राष्ट्रपति फ्रास्वां ओलान्दले शीतयुद्धपछि युक्रेनी संकट सबैभन्दा ठूलो संकट भएको उल्लेख गर्दै रुसमाथि प्रतिवन्धहरु थप कडा पारिने पुष्टि गरे।

युरोपेली संघ र संयुक्त राज्य अमेरिकाले दर्जनौं रुसी उच्चअधिकारीहरु, पृथकतावादी कमाण्डरहरु र युक्रेनी सार्वभौमसत्तामा आंच पु-याएको आरोप लागेका कम्पनीहरुमाथि प्रतिवन्ध लगाइसकेका छन्।

यसैबीच रुस समर्थक फौजहरुको ताजा दबाबपछि युक्रेनका सरकारी सैनिक पूर्वी युक्रेनका दुईवटा शहरबाट पछि हटेको विवरण आएका छन्।

रणनीतिक शहर नोभोसभित्लिभ्का र इलोभाइस्कबाट युक्रेनी फौज पछि हटिरहेको एक जना सैनिक प्रवक्ताले बताए।