थप निशुल्क औषधि: सरकार

  • 31 अगस्ट 2014
तस्वीर कपीराइट THINKSTOCK
Image caption मानसिक रोग, मधुमेह, उच्च रक्तचाप र मुटुको समस्याका लागि पनि निशुल्क औषधी दिइने छ

सरकारले बिगतदेखि नै उपलब्ध गराउने भनेको ४० किसिमका औषधि प्रभाबकारी ढंगले सर्बसाधारणको हातमा पुग्न नसकेको गुनासोहरु आइरहेका बेला थप ३० किसिमका औषधि निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।

निःशुल्क उपलब्ध गराइने भनिएका औषधिहरुमा मानसिक रोग, मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या जस्ता नसर्ने रोगका औषधि र विभिन्न प्रकारका एन्टिबायोटिक समेत रहेका छन् ।

विगतमा सरकारी अध्ययनले औल्याएका त्रुटिहरुको सम्बोधन नगरि फेरी औषधि थप गरिदां समस्या बल्झिने कतिपयको भनाई छ।

सरकारी अधिकारीहरुले भने बिगतको अनुभव साथ लिएर अगाडि बढ्ने बताएका छन।

प्रतिवेदन

चालीस किसिमका औषधि उपलब्ध गराउन थालेको पाँच वर्ष पुरा भएपछि पछिल्लो निर्णय आएको छ।

तर विगतमै निशुल्क भनिएका औषधिहरु गुणस्तरका नभएको, म्याद गुज्रन लागेका औषधि वितरण हुने गरेको, समयमै स्वास्थ्य संस्थाहरुमा नपुग्ने गरेको र बिरामिका लागी पर्याप्त नहुने गरेको स्वास्थ्यमन्त्रालयकै एक पछिल्लो अध्ययन प्रतिबेदनले औल्याएको थियो।

यसरी औल्याईएका विषयहरुको सम्बोधन भै नसकेको बेला थप औषधि निशुल्क गरिदा त्यो ब्यवहारमा लागु हुने कुरामा आशंका ब्यक्त गर्छन, उक्त अध्ययनमा संलग्न स्वास्थ्य बिभागका पूर्व महानिर्देशक डा लक्ष्मिराम पाठक।

उनी भन्छन्, “अहिले भएको जुन बितरण प्रणाली छ, किन्ने प्रक्रिया छ, त्यसलाई सुधार नगरीकन संख्या थपियो। जसलाई त्यो औषधि चाहिएको हो उसकहाँ पुगेन भने त्यसको अर्थ के रहन्छ?”

सुधार

बिगतमा केही कमजोरी भएको स्वीकार्दै सेवा प्रभाबकारी बनाउन बिगतबाट पाठ सिकेर अगाडि बढने बताउँछन, स्वास्थ्य सेवा विभाग पुनर्जागरण महाशाखाका निर्देशक डा. रमेश खरेल।

उनी भन्छन्, “हामीलाई लागेको ठेस र बिगतमा सिकाईका आधारमा एकदुइ बर्ष भित्र गतिलो काम गर्यौं भने अवस्थामा पक्कै सुधार हुन्छ।“

सरकारको पछिल्लो निर्णयपछि जिल्ला अस्पतालमा जम्मा ७० प्रकारका औषधि निशुल्क उपलब्ध हुनेछन।

प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध हुनेछन।

तर चिकित्सकहरूको अनिवार्य सल्लाह लिनुपर्ने र सम्भाबित प्रतिकूल असर गराउन सक्ने औषधि स्वास्थ्य चौकीमा उपलब्ध नहुने अधिकारीहरुले बताएका छन्।