बलात्कारका घटना बढे: प्रहरी तथ्याङ्क

  • 1 सेप्टेम्बर 2014
तस्वीर कपीराइट BBC World Service
Image caption समाजले हेर्ने नकारात्मक दृष्टिकोणका कारण बलात्कार पीडितमाथि झन् पीडा थपिने गरेको बताइन्छ

अपराध नियन्त्रणको जिम्मा पाएको नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कले मुलुकमा बलात्कारका घटनाहरु बढेको देखाएको छ।

प्रहरीको महिला तथा बालबालिका ईकाइका अनुसार आर्थिक वर्ष २०६९/७० मा बलात्कार विरुद्ध करिब ६८० वटा उजुरी परेका थिए।

त्यसको एक वर्षपछि उजुरी नौसय नाघेको छ, जुन अघिल्लो आर्थिक वर्षकोभन्दा २ सय ३५ ले बढी हो।

यस्ता घटनामा संलग्नमध्ये धेरैजसो कानुनको घेरामा आएपनि केही भने अझै फरार नै रहेको बताईएको छ।

वृद्धि

हालै पोखरामा भएको सामूहिक बलात्कारको घटना होस् या काभ्रेमा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको घटना पत्रपत्रिकाहरुमा यस्ता विवरणहरु दिनदिनै जसो देखिन्छन्।

त्यस्ता घटनामा पीडित हुनेमा ४ वर्षकी नाबालिकादेखि ६० वर्षसम्मका महिलाहरु छन्।

प्रहरीको महिला तथा बालबालिका ईकाइका प्रमुख प्रहरी उपरिक्षक कृष्ण गौतमका अनुसार घटनामा संलग्नहरुमध्ये अधिकांश गिरफ्तार भएका छन्।

उनले भने, “९ सय ८४ जनालाई पक्राउ गरेर प्रहरीले अदालतमा पेश गरेको छ। ३ सय ७७ जना अझै फरार छन् र हामीले उनीहरुको तीव्ररुपमा खोजी गरिरहेका छौं।”

कानुन

केही घटनाहरु गाँउघरमै मिलाउने गरिए पनि बलात्कार जघन्य अपराध भएकाले प्रहरीले जानकारी पाएसम्म कानुनी प्रक्रियामा ल्याउने गरेको उनले बताए।

पछिल्ला दिनहरुमा मानिसहरुमा आएको सचेतना र संचारको पहुँचले घटनाहरु बाहिर आउन थालेको भन्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चाँद तारा हाल भएको कानुनमा पनि केही सुधार गरेर यस्ता घटनाहरुको सुनुवाई छोटो समयमा गर्नुपर्ने बताउँछिन्।

उनले भनिन्, “यो एकदमै छिटो हुनुपर्छ किनभने लामो समय लाग्दा पीडकले दवाब दिने हुन्छ। निरन्तर सुनुवाई गरेर भएपनि तत्काल फैसलाको व्यवस्था हुनुपर्दछ।”

उनले ईन्टरनेटको दुरुपयोगले युवाहरुमा नकारात्मक असर पारिरहेको भन्दै त्यसतर्फ पनि सरकार, अभिभावक लगायत सबैले ध्यान दिनुपर्ने बताइन्।

तर कानुनमा कडाइका साथै महिलाप्रतिको सामाजिक सोचमा परिवर्तन आवश्यक रहेकोमा कतिपयले जोड दिन्छन्।