युक्रेनी सेना विमानस्थलबाट फिर्ता

  • 1 सेप्टेम्बर 2014
लुहान्स्कमा युक्रेनी सेना तस्वीर कपीराइट AFP

युक्रेनले देशको पूर्वमा रहेको लुहान्स्क विमानस्थलमा रहेका आफ्ना सेना, उसकै शब्दमा, रुसी ट्यांकहरुको आक्रमणमा परेपछि फिर्ता हटेको बताएको छ।

एकजना सरकारी प्रवक्ताले त्यहांका निकटवर्ती नगरहरुमा ठूलो संख्यामा रुसी सैनिकहरु परिचालन गरिएको बताए।

युक्रेनको सेनाले लुहान्स्क नगरको विमानस्थलमा रुस समर्थक विद्राहीहरुसंग रातभरीको लडाईंपछि आफूहरु त्यहांबाट पछाडी हटेको जनाएको छ।

सोमबार युक्रेनको सुरक्षा परिषदले पनि आफ्ना सैनिकहरु लुहान्स्क विमानस्थलबाट व्यवस्थित तरिकाले पछाडी हटेको पुष्टि गरेको थियो।

त्यसअघि राष्ट्रपति पेट्रो पोरोशेन्कोले क्रेमलिनलाई पूर्वी युक्रेनमा प्रत्यक्ष र खुला आक्रमण गरेको आरोप लगाएका थिए।

बलियो

उनले त्यसबाट स्थलगत रुपमा रुस समर्थक विद्रोहीहरुको पक्ष बलियो हुन पुगेको बताए।

“युक्रेन विरुद्ध उसको छिमेकी राष्ट्रले प्रत्यक्ष तथा कुनै ढाकछोप नगरिकनै आक्रमण शुरु गरको छ। त्यस्तो कदमपछि संघर्षग्रस्त क्षेत्रमा स्थिति पूर्ण रुपमा परिवर्तित हुन पुगेको छ,“ राष्ट्रपति पोरोशेन्कोले भने।

युक्रेन र पश्चिमा देशहरुले, विद्रोहीहरुलाई अघि बढ्नका लागि रुसी सेनाले समर्थन गरेको आरोप लगाएका छन्।

तर मस्कोले त्यहां सेना नपठाएको बताएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले, उनकै शब्दमा, गैरसैनिकहरुलाई प्रत्यक्ष आक्रमण गरेको बताएका थिए।

जवाफ

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव एन्डर्स फग रासमुसेनले रुसको आक्रामक व्यवहारको जवाफमा भन्दै एउटा कार्ययोजनाको घोषणा गरेका छन्, जसको अर्थ पूर्वी युरोपमा नेटोको अझ देखिने खालको उपस्थिlt रहने छ।

जर्मन चान्सलर एंगेला मर्केलले पनि पूर्वी युक्रेनको द्वन्द्व आन्तरिक नरहेको स्पष्ट भएको भन्दै त्यो रुस र युक्रेनबीचको द्वन्द्व भएको बताएकी छिन्।

उनले मस्कोलाई चेतावनी दिंदै भनिन्, " जर्मनी आफ्नो अर्थतन्त्रलाई नकारात्मक असर पर्ने भएपनि रुस विरुद्ध नयां प्रतिबन्धहरु लगाउन तयार रहेको छ।"

गत अप्रिल महिनामा पूर्वी युक्रेनमा संघर्ष आरम्भ भएयता २६ सय जनाको ज्यान गैसकेको छ।

गत मार्चमा दक्षिणी क्राइमिया प्राय:द्वीप लाई रुसले आफूमा विलय गराएपछि यो द्वन्द्वको आरम्भ भएको थियो।