थन्किएको एमए-६० जहाज अब उड्ने

  • 2 सेप्टेम्बर 2014
तस्वीर कपीराइट nepal airlines
Image caption नेपाली पाइलटले चलाउन थालेपछि नयाँ जहाजले दैनिक ४ वटासम्म उडान भर्ने बताइएको छ

करिब ३ सातादेखि पाइलट अभावमा विमानस्थलमै थन्किएको नेपाल बायु सेवा निगमको एमए-६० चीनियाँ जहाजलाई लाओसका पाइलट मगाएर बुधबार वा बिहीबारबाट उडान सुरु गर्ने निगमका अधिकारीहरुले जनाएका छन्।

यसअघि उडान गराउन आएका चीनका पाइलट आफ्नो करार सम्झौता सकेर फर्किएपछि जहाज उड्न तयार रहेपनि पाइलट अभावमा थन्किँदै आएको थियो।

उक्त जहाज उडाउन अबको दुई महिनामा नेपाली पाइलट नै तयार हुने निगमका अधिकारीले जनाएका छन्।

बैशाखको दोस्रो साता नेपाल भित्रिएको ५६ सिट क्षमताको उक्त जहाज चलाउन सुरुमा आएका चिनियाँ क्यापटेन आफ्नो दुइ महिना अवधि सकेर फर्किएपछि करीब तीन सातादेखि जहाज विमानस्थलमै थन्किँदै आएको थियो।

उडान

नेपाली पाइलट तयार भइ नसकेको अवस्थामा चीनले लाओसका पाइलटलाइ नेपाल पठाएको थियो।

नागरिक उड्डयन प्राधिकरणले उनको परिक्षा लिइसकेकाले अब बुधबार वा विहीबारबाटै जहाज उड्ने नेपाल बायु सेवा निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता सरोज कसजुले बताए।

उनले भने, “पाइलटको जाँच लिइसकेको छ अब उड्डयन प्राधिकरणले सदर गरेपछि बुधबार अथवा बिहीबारबाट जहाज उड्न सुरु हुन्छ।”

नेपाल भित्रिएको ५ महिना भइसके पनि कहिले चरा ठोक्किने, कहिले जहाजको राडारमा समस्या आउने त कहिले हाइड्रोलिक आयल प्रणालीमा समस्या देखिएर सुरु देखि नै समय समयमा उक्त जहाज थन्किँदै आएको थियो।

तयार

उडान नहुँदा घाटा ब्यहोरिरहेको निगमले अबको दुइ महिनामा उक्त जहाजका लागि आफ्नै पाइलट तयार हुने जनाएको छ।

प्रवक्ता कसजुले भने, “नेपाली पाइलटहरुलाई तयार गरिँदैछ। अबको दुइ महिनामा उनीहरुलाई तयार गरेर हामी आफैँले उडाउन सक्छौं।”

आन्तरीक उडानमा रहेका विमानहरुमध्ये तुलनात्मक रुपमा धेरै सिट संख्या भएको यो जहाज अब उड्नका लागि कुनै समस्या नदेखिएकाले दशैँको मुखमा यात्रुहरु मारमा पर्नु नपर्ने निगमका अधिकारीहरुको भनाई छ।

यो जहाजले काठमाडौं बिराटनगर र काठमाडौं भैरहवाको उडान भर्नेछ।