‘मौसमको प्रतिकुलताले धान उत्पादन घट्ने’

  • 3 सेप्टेम्बर 2014
तस्वीर कपीराइट bbc
Image caption यस बर्ष झन्डै एक लाख हेक्टर जमिन बाँझै रहेको अधिकारीहरुले बताएका छन्

यसपटको वर्षायाममा कतै खडेरी त कतै बाढीपहिरोका कारण झन्डै डेढ लाख हेक्टर जमिनको धान खेती प्रत्यक्ष प्रभावित भएको कृषि विकास मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

आगामी दिनमा थप बाढीपहिरो जस्ता प्रकोपको सामना गर्नुपरे वा राम्ररी वर्षा नभए यस वर्षको धान उत्पादन उल्लेख्य रुपमा घट्ने उनीहरुले चेतावनी दिएका छन्।

यस वर्ष अघिल्लो वर्षभन्दा ७ प्रतिशत कम जग्गामा रोपाइँ भएको सरकारी आँकडा छ।

पछिल्ला वर्षमा उत्पादनभन्दा माग बढ्न थालेपछि नेपालले अर्बौं रुपैयाँ चामलको आयातमा खर्च गरिरहेको छ।

बाँझो

प्रत्येक वर्ष सरदर झन्डै १५ लाख हेक्टर जमिनमा रोपाइँ गरिने भएपनि यसपालि समयमा पानी नपर्दा करिब १ लाख हेक्टर जमिन बाँझै रहेका छन्।

कृषि विकास मन्त्रालयका अनुसार यसै महिनाको सुरुमा सुदुर र मध्यपश्चिमका तराइ जिल्लामा आएको बाढीका कारण झन्डै ३५ हजार हेक्टर जमीनमा गरिएको रोपाइँ बालुवामा पुरिएको वा पानीले बगाएको छ।

सुख्खा र बाढिपहिरोका कारण यसपटक धानको उत्पादन उल्लेख्य रुपमा घट्न सक्ने कृषि मन्त्रालयका वरिष्ठ तथ्यांकशास्त्री हेमराज रेग्मीले बीबीसीलाई बताए।

उनले भने, “गतवर्षकै जस्तो स्थिति रहने हो भने करिव ३ लाख मेट्रिक टन धान उत्पादन कम हुन्छ, तर पहिलाभन्दा सुधार आउने हो भने पनि त्यति नघट्न सक्छ तर अझै पानी नपर्ने र थप बाढी पहिरोका घटना हुने हो भने त्यो उत्पादन मात्रा बढ्न सक्छ।”

रोपाइँ भएको क्षेत्रफल घटे पनि असोज महिना भरी वर्षा भए उब्जनी बढ्ने र गएकै वर्षको हाराहरीमा धान उत्पादन हुन सक्ने रेग्मीको भनाई छ।

प्रभाव

कृषि क्षेत्रमा धानबालीको योगदान २० प्रतिशत भन्दा बढी रहेको छ भने कूल ग्राहस्थ उत्पादनमा त्यसले करिब ७ प्रतिशत योगदान पुर्याउँदै आएको छ।

ढिलो गरी रोपाइँ गरिएको र कतिपय खेतमा बाढी पहिरोका कारण क्षति पुगेकाले यो वर्ष धान उत्पादन घट्ने राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हरिकृष्ण उपाध्यायले बताए।

उनी भन्छन्, “रोपाइँ भएको ठाउँमा पनि बाढी पहिरोले भौतिक रुपमा नै असर गर्यो, ढिलो रोपाईँ भएका स्थानमा रोगको प्रकोप बढ्ने सम्भावना हुन्छ, यी सबै कुराले १०-१२ प्रतिशत उत्पादन घट्न सक्छ।”

अघिल्लो वर्ष मुलुक भित्रै करिव १ खर्ब १० अर्ब रुपियाँ बराबरको ५० लाख मेट्रिक टन धान उत्पादन भएको थियो।

साथै नेपालले झन्डै १४ अर्ब रुपियाँ बराबरको चामल विदेशबाट आयात गरेको थियो।