युक्रेन संघर्ष विरामको स्वागत

  • 6 सेप्टेम्बर 2014
तस्वीर कपीराइट AFP
Image caption बेलारुसको राजधानी मिन्स्कमा भएको वार्तापछि युक्रेनमा संघर्षविराम गर्ने सहमति बनेको छ

रुस र पश्चिमा देशहरुले युक्रेनी सरकार र त्यहाँ संघर्षरत विद्रोहीहरुबीच भएको संघर्ष विरामको स्वागत गरेका छन्।

तर नेटोको सम्मेलनमा बोल्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले विगतको अनुभवको आधारमा मस्को र विद्रोहीहरु सहमति अनुसार अघि बढ्ने कुरामा संशय बाँकी नै रहेको बताएका छन्।

बेलारुसको राजधानी मिन्स्कमा रुसी प्रतिनिधि मण्डल सहित युक्रेन सरकार र रुस समर्थक विद्रोहीहरुबीच भएको वार्तामा महिनौंदेखि जारी लडाईं अन्त्य गर्ने संघर्ष विराममा सहमति भएको थियो।

संघर्षविराम सम्बन्धी वार्ता सुरक्षा र सहयोगका लागि युरोपेली निकाय अर्गनाइजेशन फर सेक्युरिटी एन्ड कोअपरेशन इन युरोपको मध्यस्थतामा भएको थियो।

सहमतिको पाठ

ओएसीइले संघर्षविरामको अनुगमन गर्ने बताइएको छ तर सहमतिको पूर्ण पाठ सार्वजनिक गरिएको छैन।

युक्रेन र पूर्वी क्षेत्रमा रहेका रुस समर्थक विद्रोहीहरुबीच शुक्रबार जीएमटी तीनबजेबाट गर्ने गरि भएको संघर्षविराम अन्त्य गर्ने सहमति अहिलेसम्म कार्यान्वयन भएको बताइएको छ।

उक्त सहमतिपछि युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले भने, 'हामी शक्ति विकेन्द्रिकरणका साथै डोनेत्स्क र लुहान्स्क क्षेत्रका निश्चित जिल्लाहरुमा आर्थिक स्वतन्त्रता दिन र सांस्कृतिक परम्परा एवं उक्त क्षेत्रमा कुनै पनि भाषा प्रयोग गर्ने अधिकारको सुनिश्चितता गर्ने लगायतका महत्वपूर्ण कमद उठाउन तयार छौं।'

राष्ट्रपति पोरोशेन्कोले संघर्षविराम १२ बुँदे शान्ति योजनाको आधारमा गरिएको र त्यसमा कब्जामा परेकालाई रिहा गर्ने प्रावधान राखिएको बताएका छन् र उनले त्यो काम संभवत शनिबार हुनसक्छ भनेका छन्।

उनले संघर्षविराम लामो समयका लागि हुनु महत्वपूर्ण छ भन्दै शान्ति र स्थीरता ल्याउन संघर्षविरामको समयमा राजनीतिक संवाद जारी राख्ने जनाएका छन्।

तस्वीर कपीराइट Reuters
Image caption मिन्स्कमा भएको वार्तामा पूर्व युक्रेनी राष्ट्रपति र स्वघोषित डोनेष्ट्स्क राज्यका प्रधानमन्त्री पनि सहभागी थिए

रुसी राष्ट्रपति भ्लादिमिर पुटीनलाई योजनाबारे टेलिफोनमा जानकारी दिइएको उनले बताएका छन्।

पृथकता लक्ष्य

तर विद्रोहीहरुले संघर्षविरामले उनीहरुको युक्रेनबाट पृथक हुने नीतिमा कुनै परिवर्तन नभएको बताएका छन्।

यु्क्रेनको पूर्वी शहर डोनेत्स्कस्थित बीबीसीका एकजना सम्वाददाता भन्छन् संघर्ष विरामको घोषणापछि लडाई भएको आवाज सुनिएको छैन।

सहमति बन्नु केहि अघि डोनेट्स्क र मरिपुल वरपर लडाइ भएको रिपोर्ट आएका थिए।

तस्वीर कपीराइट n
Image caption पूर्वी युक्रेनमा सेना र पृथकतावादीहरुबीच संघर्ष हुँदै आएको छ

प्रत्यक्षदर्शीका अनुसार संघर्षविराम जारी हुनु ठीक अघि डोनेट्स्कमा तीनवटा ठूला विस्फोट सुनिएका थिए।

विद्रोहीहरुले पूर्वी शहरहरुमा आक्रमण गर्दा अहिलेसम्म २६सय भन्दा मानिसहरुको ज्यान गइसकेको छ।

पश्चिमले पूर्वी युक्रेनका विद्रोहीहरुका लागि हात हतियार र फौज समेत रुसले पठाएको आरोप लगाउँछ तर त्यो रुसले अस्वीकार गर्छ।

नेटो निर्णय

एक अर्को विकसित घटनाक्रममा नेटोले ४८ घन्टा भित्रै तैनाथ गर्न सक्ने गरी बहुराष्ट्रिय फौज बनाउन निर्णय गरेको छ।

रक्षा खर्च बढाउने र पूर्वी सदस्य राज्यहरुमा उपस्थिति बलियो बनाउने उनीहरुको निर्णय छ।

तर रुसी विदेश मन्त्रालयले नेटोको घोषणाप्रति आक्रोषपूर्ण प्रतिक्रिया दिएको छ।