भारत-पाकिस्तानमा बाढी: दुईसयभन्दा बढीको मृत्यु

  • 7 सेप्टेम्बर 2014
तस्वीर कपीराइट AFP

भारी वर्षापछि भारत र पाकिस्तानमा आएको बाढी र पहिरोमा दुई सयजना भन्दा बढीको मृत्यु भएको छ।

भारत प्रशासित कश्मीरमा एक सयभन्दा बढीले ज्यान गुमाएका छन्।

पाकिस्तान प्रशासित कश्मीर र पन्जाबमा मारिनेहरुको संख्या एकसय नाघेको छ।

दुलहा-दुलही

तस्वीर कपीराइट AFP
Image caption भारत प्रशासित कश्मीरमा बिहेको बस बगाउँदा दुलहा दुलही सहित कैयौको ज्यान गएको थियो

शनिबार भारत प्रशासित जम्मु-कश्मीरका मुख्यमन्त्री ओमार अब्दुल्लाले एक सयजतिको ज्यान गएको बताएका थिए।

स्थानीय सन्चार माध्यमहरुले एक सय बीसजनाको मृत्यु भएको उल्लेख गरेका छन्।

बिहीबार भारत प्रशासित कश्मीरमा पचास जना सवार बिहेको बस नदीले बगाउँदा दुलाहा-दुलही सहित कैयौंको मृत्यु भएको थियो।

त्यस क्षेत्रमा मारिएकाहरुको स्पष्ट तथ्याङ्क छैन, हजारौं मानिस विस्थापित भएका छन्।

अझैं वर्षा

संचार सम्पर्कका साथै बाढी र पहिरोले पुल बगाउँदा सडक सम्पर्क पनि विच्छेद छ।

उद्धार टोलीले बाढीमा फसेका मानिसहरुको खोजी र उनीहरुसम्म पुग्न डुंगाको प्रयोग गरिरहेका छन्।

पहाडी इलाकाका दुर्गम वस्तीहरुमा पुग्न आइतबार वायु सेनाका हेलिकोप्टरहरु परिचालन गरिने बताइएको छ।

बीबीसीका दिल्लीस्थिति सम्वाददाता संजय मजुमदारका अनुसार त्यस क्षेत्रमा ६० वर्षयताकै भयानक बाढी आएको थियो र आगामी ४८ घण्टा थप वर्षा हुने पूर्वानुमान गरिएको छ।

जलमग्न लाहोर

भारतको छिमेकी पाकिस्तानलाई पनि बाढीले नराम्ररी प्रभावित तुल्याएको छ।

त्यहाँको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका प्रवक्ता अहमद कमालले पाकिस्तान प्रशासित कश्मीरमा घरका छतहरु भत्किँदा एकसय मानिसको च्यापिएर मृत्यु भएको बताए।

पाकिस्तानको पञ्जाब प्रान्तमा पनि बाढीमा ४० जनाको ज्यान गएको समाचारहरुमा जनाइएको छ।

एउटा प्रमुख शहर लाहोरका थुप्रै भाग जलमग्न छन्।

पाकिस्तानले पनि वर्षायाममा गम्भीर प्रकृतिका बाढीको सामना गर्दै आएको छ।