राष्ट्रिय राजनीतिक सभा गर्न 'गृहकार्य'

  • 7 सेप्टेम्बर 2014
तस्वीर कपीराइट AFP
Image caption नेकपा माओवादीको माग बमोजिम राष्ट्रिय राजनीतिक सभाको तयारी गर्न बनेको कार्यदलले काम शुरु गरेको छ

संविधानसभा बाहिर रहेका दलहरुलाई जारी राजनीतिक प्रक्रियामा संलग्न गराउन बनेको कार्यदलले राष्ट्रिय राजनीतिक सभाको गृहकार्य शुरु गरेको छ।

शनिबार बसेको कार्यदलको बैठकमा सत्तापक्षीय दलहरुले प्रधानमन्त्री सुशील कोइराला अर्को महिनाको सुरुमा राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएकाले यसै महिना भित्र राजनीतिक सभा गरिनुपर्ने प्रस्ताव गरेका थिए।

मुख्यत: संविधानसभाको चुनाव बहिष्कार गरेको नेकपा माओवादीले राष्ट्रिय सभाको माग गर्दै आएको छ।

त्यसैलाई संबोधन गर्न संविधानसभामा रहेका दलले 'राष्ट्रिय राजनीतिक सभा' गर्ने निर्णय गरेका थिए।

तर आफू सम्बद्ध मोर्चालाई तयारीका लागि समय लाग्ने भन्दै नेकपा माओवादीले सभा केही पछि गर्न अनुरोध गरेको छ।

तीन दलका शीर्ष नेता र नेकपा माओवादीको सहमतिमा कार्यदल बनेको दुई दिनपछि शनिबार साँझ बसेको पहिलो बैठकमा नेताहरुले उक्त संयन्त्रको नाम राष्ट्रिय राजनीतिक सभा राख्ने सहमति गरेका थिए।

विभाजित

उक्त सभाको सञ्चालन र निर्णय प्रक्रियाका बारेमा छलफल भए पनि अन्तिम टुङगो लागिनसकेको एकिकृत माओवादीका तर्फबाट कार्यदलका सदस्य खिमलाल देवकोटाले बताए।

उनले भने, “सभाको आयोजना कसले र कसरी गर्ने, यसले निर्णय कसरी गर्ने, यसको सन्चालन कसरी गर्ने लगायत विषयमा पहिलो बैठकमा छलफल ग-यौं, आइतबार पनि छलफल गरेर टुँग्याउँछौ।”

सम्मेलन कहिले गर्ने र कति लामो हुने भन्ने बिषयमा दलहरु विभाजित छन्।

नेपाली कांग्रेस र नेकपा एमालेले भदौको २६ र २७ को मिति प्रस्ताव गरेको भएपनि नेकपा माओवादीले असोजको पहिलो साता सम्मेलन गर्नुपर्ने प्रस्ताव राखेको थियो।

बीचको बाटो

असोज ३ गते प्रधानमन्त्री अमेरिका जाने भएकाले त्यो भन्दा पहिले नै गर्न बीचको बाटो खोज्ने तयारी भैरहेको नेताहरुले बताएका छन्।

नेकपा एमालेका तर्फबाट कार्यदल सदस्य अग्नि खरेलले भने, “नेकपा माओवादीले हामीले प्रस्ताव गरेको मितिमा उहाँहरुलाई गाह्रो भयो भन्नुभएको छ, त्यही भएर फेरि बैठक गरेर टुँगोमा पुग्छौं।”

नेकपा माओवादीले उक्त राजनीतिक सभाबाट संविधानका विषयवस्तुमा सहमति जुटाइनुपर्ने प्रस्ताव राखेको छ।

माओवादी प्रवक्ता पम्फा भुषालले आफूहरुले राखेको राष्ट्रिय राजनीतिक सभाको संरचनामा कार्यदल सकारात्मक रहेको बताइन्।

भुषालले भनिन्, “संविधानसभा बाहिर रहेका र संविधानसभा भित्रका दलहरुनै सहभागी हुने गरी सभा गर्नुपर्छ भन्ने हाम्रो प्रस्तावमा कार्यदल सकारात्मक छ।”

तर सरकार पक्षीय दलहरुले संबिधान सभा बाहिर रहेका दलहरुबाट संविधानका विषयमा सुझाव लिन सभाको आयोजना गर्न लागिएको तर संविधानका अन्तरवस्तुको बारेमा संबिधान सभाले नै अन्तिम निर्णय गर्ने अडान राख्दै आएका छन्।