बाढीमा परि पाकिस्तानमा दुई सयभन्दा बढीको मृत्यु

  • 9 सेप्टेम्बर 2014
भारतमा उद्धार प्रयास तस्वीर कपीराइट AP
Image caption भारत प्रशासित कश्मीर लगायका राज्यमा आधा शताव्दीकै ठूलो मध्येको बाढी आएको बताइएको छ

पाकिस्तान प्रशासित कश्मीर र पञ्जाव प्रान्तमा दुई सयजनाको ज्यान लिएको बाढीले त्यहाँका हजारौं घर र खेति गरिएका ठूला फाँटहरुमा क्षति पुर्याएको अधिकारीहरुले जनाएका छन्।

सेनाको नेतृत्वमा त्यहाँ फसिरहेका हजारौं मानिसको उद्धार कार्य जारी छ।

राहत वितरण तथा उद्धार कार्यमा सेनाको हेलिकोप्टरहरु प्रयोग भइरहेका छन्।

पाकिस्तानको सबैभन्दा बढी प्रभावित पञ्जावमा नदीको पानी किनारहरु नाघेर बगिरहेको बताइएको छ।

लाहौर शहरको डुबान क्षेत्रमा पानी नघट्दा जनजीवन कष्टप्रद बनेको छ।

भारतमा उस्तै

आधा शताब्दीकै सबैभन्दा ठूलो मध्येको भनिएको बाढीले पाकिस्तानसँगै भारतका राज्यहरुमा पनि ठूलो क्षति पुर्याएको छ।

भारत प्रशासित कश्मीरमा बाढी प्रभावित मानिसहरुको उद्धार कार्यलाई तिब्रता दिइएको अधिकारीहरुको भनाइ छ।

राजधानी श्रीनगरमा कयौं मानिसहरु उद्धारको प्रतिक्षामा घरहरुका छतमा चढेका थिए।

पीडित मानिसहरुसम्म पुग्न उद्धारकर्ताहरुले संघर्ष गर्नु परिरहेका विवरणहरु प्राप्त भएका छन्।