विवादले दुर्घटना निम्त्याउन सक्छ: प्रचण्ड

  • 9 सेप्टेम्बर 2014
Image caption प्रमुख दलहरुले सर्वपक्षीय राजनीतिक सभाको मिति तय गर्न सकेका छैनन्

प्रमुख दलहरुबीच संविधान लेखनको कार्यतालिका र सर्वदलीय राजनीतिक सभाको आयोजनाबारे विवाद भइरहँदा प्रमुख प्रतिपक्षी दलका नेता एवं एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले सत्तापक्षीय दलका कारण मुलुक गम्भीर दुर्घटनामा फस्न लागेको चेतावनी दिएका छन्।

प्रधानमन्त्री सुशील कोइरालालाई मंगलबार भेटेर प्रचण्डले सहमतीय प्रकृयाबाट संविधान लेखिने सुनिश्चित गर्न माग गरे।

उनले करिव दुई हप्ता देखि संसदमा जारी अवरोध खुलाउन सरकार गम्भीर नभएको आरोप पनि लगाए।

एउटा बेग्लै प्रसंगमा, प्रधानमन्त्री कोइरालाले सत्तापक्षीय र विपक्षी दलहरुबिच विवाद चर्कंदै गएतापनि निर्धारित समयमा नै संविधान जारी हुने बताएका छन्।

वार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा कोइरालासँग झन्डै एक घण्टा एक्ला एक्लै छलफल गरेका प्रचण्डले सतापक्षीय दलहरुको कार्यशैलीको आलोचना गरेका थिए।

उनले सतापक्षीय दलहरुले संसदमा जारी अवरोध खुलाउन अरुची देखाएको र बहुमतीय प्रकृयाबाट संविधान लेखन अघि बढाएर देशलाई द्वन्द्वतर्फ धकेल्न लागिपरेको आरोप लगाए।

उनको भनाईबारे एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले भने, “परिवर्तनलाई संस्थागत गर्ने भन्दा पनि प्रकृयामा लगेर ०४६ सालतिरै फर्काउने दुस्साहस कांग्रेस र एमालेले गर्दैछन्, यसले देशलाई गम्भीर द्वन्दमा र गम्भीर दुर्घटनातर्फ लैजान्छ।”

उनले प्रचण्डले सरकार प्रमुखको हैसियतमा पछिल्लो संकट हल गर्न विशेष भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए।

कांग्रेस वृत्तबाट संघीयता थाती राखेर संविधान जारी राख्न सकिने भनाइ आउन थालेको भन्दै एकिकृत माओवादीले कांग्रेस र एमालेलाई गणतन्त्र मात्र थपेर ०४६ सालको जस्तै संविधानमा जारी गर्ने पक्षमा उभिएको आरोप लगाएको छ।

बचाउ

त्यस आरोपबारे प्रतिक्रिया दिंदै नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडूले संविधानसभाले संघीय गणतन्त्र सहितको संविधान जारी गर्न आफ्नो दल प्रतिबद्ध रहेको बताए।

उनले भने, “संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्धारित समयमा नै ल्याउने हो, यसलाई नरोकौं, विगतको संविधानसभाको पुनरावृती हुन नदिन कार्यतलिका अनुसार नै अघि बढौँ।”

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयमा सहमति जुटाउन पाएको म्याद शनिबार सकिएपछि एकिकृत माओवादीले कार्यतालिका परिमार्जन गरेर सहमतिबाटै संविधानको मस्यौदा तयार गरिनुपर्ने माग गर्दै आएको छ।

काँग्रेस र एमालेले संविधानसभाले कार्यतालिका बमोजिम निर्णय प्रकृया अघि बढाउनुपर्ने अडान लिएपछि पछिल्लो विवादले संविधान जारी गर्ने माघ ८ गतेको कार्यतालिका प्रभावित हुनसक्ने चिन्ताहरु व्यक्त हुन थालेका छन्।

तर बुधवार बीपी जन्मशताब्दीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले माघ ८ गते नै संविधान जारी हुने बताए।

प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले भन्दै आएको गोलमेच सम्मेलन चाँडै गरी संविधानका आधारभूत विषयवस्तुमा सहमति जुटाउनुपर्ने माग गरेका थिए।

नेकपा माओवादी समेत सम्मिलित कार्यदलमा सर्वदलीय राजनीतिक सभा नाम दिइएको त्यस्तो सम्मेलन आयोजना गर्ने मितिबारे अझै सहमति जुट्न सकेको छैन्।