आईएस विरुद्ध अमेरिकालाई अरब राष्ट्रको समर्थन

  • 12 सेप्टेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption आईएस विरुद्ध राष्ट्रपति ओबामाको घोषणापछि क्षेत्रिय समर्थन जुटाउन अमेरिकी विदेश मन्त्री जोन केरीले प्रयास थालेका थिए

सिरिया र इराकमा सक्रिय जिहादी समूह इस्लामिक स्टेट (आईएस) विरुद्ध अमेरिकाले गरिरहेको सैन्य कारवाहीमा सघाउन दशवटा अरब देशहरु तयार भएका छन्।

साउदी अरेवियाको जेद्दाहमा अमेरिकी विदेशमन्त्री जोन केरीसँगको वैठकपछि उनीहरुले सैन्य र मानवीय सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन्।

राष्ट्रपति ओबामाले आईएसलाई तहसनहस र ध्वस्त बनाउने आफ्नो योजना बुधवार घोषणा गरेका थिए।

तस्वीर कपीराइट
Image caption अमेरिकाले इराकमा आईएस विद्रोही लक्षित १५० भन्दा बढी हवाई आक्रमण गरिसकेको छ

विदेशमन्त्री केरीले त्यही योजनाको पक्षमा वृहद गठबन्धनको निम्ति प्रयास थालेका हुन्।

छलफलको विषय

बैठकपछि अमेरिकी विदेशमन्त्री जोन केरीले आईएस लडाकूहरु विरुद्ध राष्ट्रपति बराक ओबामाको योजनाका सबै पक्षमा क्षेत्रीय समर्थन प्राप्त गरेको बीबीसीलाई बताए।

समर्थन जनाउने देशहरुमा बहराईन, इजिप्ट, इराक, जोर्डन, कुबेत, लेवनन्, ओमन, कतार, साउदी अरेविया र युएई छन्।

ती देशका मन्त्रीहरुले जारी गरेको उक्त विज्ञप्तिमा आईएस विरुद्धको अमेरिकी कारवाहीमा आफूहरुले सहकार्य गर्ने उल्लेख छ।

सबैखाले आतंकावाद विरुद्ध एकसाथ उभिने प्रतिवद्धता जनाइएको उक्त ‍विज्ञप्तिका अनुसार उनीहरुले आईएसले विदेशबाट पाइरहेको आर्थिक र लडाकू सहायता रोक्ने प्रयास पनि गर्ने छन्।

इराक र सिरिया सहित आईएसलाई सबै ठाउँमा ध्वस्त बनाउने योजनाबारे बैठकमा छलफल भएको बताइएको छ।

टर्कीद्वारा अस्वीकार

बैठकमा सहभागी उत्तर एट्लाण्टिक सन्धि संगठन नेटोको सदस्य राष्ट्र टर्कीका प्रतिनिधिले विज्ञप्तिमा हस्ताक्षर गरेनन्।

विश्लेषकहरुले आफ्ना कुटनीतिज्ञहरु सहित ४९ जना नागरिक आईएस विद्रोहहरुको कब्जामा रहेकाले गठबन्धनमा रहेर भूमिका निर्वाह गर्न टर्कीले अस्वीकार गरेको ठानेका छन्।

अमेरिकाले इराकमा आईएस विद्रोहीहरु लक्षित १५० भन्दा बढी हवाई आक्रमण गरिसकेको छ।

उसले इराकी र कुर्द फौजलाई सघाउन सयौं सैन्य सल्लाहकारहरु पनि इराक पठाएको छ।