‘फरक’ नेता बोगटी

  • 15 सेप्टेम्बर 2014
तस्वीर कपीराइट .
Image caption बोगटीले लामो समय माओवादी विद्रोहको उदगम थलो पश्चिम नेपालमा पार्टीको नेतृत्व सम्हालेका थिए

धेरैका बुझाइमा स्वर्गीय पोष्टबहादुर बोगटी शक्ति र सत्ताको मात नलागेका शालीन र इमान्दार नेता थिए।

औसत नेताको छवि बनाएका एकीकृत नेकपा-माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनबाट उनको पार्टीले ठूलो क्षति व्यहोरेको छ।

धेरै गैर माओवादीले पनि एकजना सरल र भद्र नेता गुमाएको टिप्पणी गरिरहेका छन्।

निधनपछि यसरी प्रंशसाका साथ उनी सम्झिइए, किन?

पारिवारिक वियोग

राजधानी नजिकको नुवाकोटका नेता पोष्टबहादुर बोगटी माओवादीको सशस्त्र विद्रोह मध्यपश्चिमका केही पहाडी जिल्लाहरुमा सीमित हुँदादेखि नै 'दिवाकर' नामले पार्टीको नेतृत्व गर्न त्यस क्षेत्रमा पुगेका थिए।

जानकारहरुका अनुसार नेतृत्वतहका धेरै नेताहरु भारत प्रवासमा रहँदा 'दिवाकर' अधिकांश समय ‘मुक्ति वा मृत्य’को निम्ति भन्दै खटिएका कार्यकर्तासँग उकाली ओरालीमै रहन्थे।

गाउँमा भएको अलिकता सम्पति विद्यालयलाई दान दिएर परिवार नै सशस्त्र विद्रोहमा लगाएका उनले द्वन्द्वमा एक्लो छोरो गुमाउनु प-यो, जुन पारिवारिक वियोग अन्य शीर्ष नेताहरुले व्यहोर्नु परेन।

त्यसो त उनी जस्तै अधिकांश माओवादी नेताहरु सामान्य पारिवारिक पृष्ठभूमिबाटै उठेका हुन्।

राजनीतिक पूँजी

तर शान्ति प्रकृयापछि शक्तिमा पुग्दा ती मध्ये धेरै, कतिपय भन्छन्, “संसार फेर्न हिडेका थिए-आफै फेरिए, आफ्नै कार्यकर्ताको पहुँचभन्दा टाढा पुगे, असाधारण रुपमा शक्तिशाली बनेको भ्रममा परे। र, सम्पत्ति जोडजाडमा लागे।”

तर भनिन्छ, बोगटीले त्यो नियतबाट आफूलाई जोगाए र, सडकमा होस् वा सिंहदरबारमा- उनी ढोंगी बनेनन्, उनमा दम्भ पलाएन, साधारण, भद्र र इमान्दार बन्ने प्रयत्नमा टिके।

तस्वीर कपीराइट .
Image caption धेरै नेता भारतमा छँदा बोगटीले धरै समय स्वदेशमै कार्यकर्तासँग बिताएको बताइन्छ

हुन त बोगटीलाई न विशिष्ठ गुण भएका प्रतिभाशाली नेताका रुपमा हेरिन्छ, न उनले कुनै असाधारण क्षमता वा दक्षता नै देखाए।

तर आफ्नै दलभित्रको इतर गुटमात्र होइन, शान्ति प्रकृयापछि सहकार्यमा आएका ‘विरोधी’ दलका नेताहरुका निम्ति पनि उनी नबिझाउने नेताको रुपमा रहे।

समकालीन नेताहरुमा दुर्लभ बनेका त्यस्तै कतिपय सामान्य व्यवहार र गुणको जगेर्ना गर्न सक्नु उनको राजनीतिक जीवनको पहिचान र सम्पत्ति बन्न पुगेको देखिन्छ।

विगतमा राजदरवारदेखि सिंहदरवारमा आसीनहरुमा पारिवारिक वा व्यक्तिगत टकराव र कटुताले सिंगो राजनीतिलाई गम्भीर प्रभाव पारेको पाइन्छ।

प्रचण्डलाई क्षति

बोगटीले त्यो कमजोरीलाई पनि जीतेका थिए, र त उनले पारिवारिक सम्बन्धमा दरार आउँदा समेत पार्टीभित्रको चरम अन्तरसंघर्षमा पूर्वसम्धी अध्यक्ष प्रचण्डको साथ छाडेनन्।

Image caption प्रचण्डका विश्वासपात्र बोगटीलाई माओवादीभित्रको विपरित खेमाले पनि सहज नेताको रुपमा स्वीकारेको पाइन्थ्यो

जबकी प्रचण्डले ठूलो राजनीतिक गुण लगाएका कतिपय नेताहरु उनको राजनीतिक जीवनको एउटा कठीनतम् चुनौति बनेर उभिएको ‘धोविघाट-गठबन्धन’मा गाँसिए।

पछिल्लो समय पार्टी विभाजनपछि उच्च नेताहरुबीचको होडबाजीमा पनि प्रचण्डकानिम्ति बोगटी सन्तुलनको विकल्प बन्ने गरेका थिए।

त्यसैले उनको निधनबाट एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सबैभन्दा ठूलो क्षति व्यहोरेको देखिन्छ।

कतिपयले सरलता, भद्रता र इमान्दारीको खडेरी नै परेको ठान्ने नेपाली राजनीतिमा उनी ती सबै गुणको एकजना प्रतिनिधि पात्रको परिचय बनाएर बिदा भएका छन्।

तर हिंसा र हत्यासँग जोडिएको उनको ताजा राजनीतिक विगतलाई उनीबाट पूर्ण रुपमा अलग गरेर हेर्न नमिल्ने कतिपयको धारणा पाइन्छ।