'मातृ-शिशु स्वास्थ्यमा नेपालको प्रगति'

  • 16 सेप्टेम्बर 2014
गर्भवती महिलाको उद्धार गरिंदै
Image caption सन् २०१३ मा नेपालमा प्रत्येक एक लाख जीवित जन्म हुँदा गर्भवती महिलाहरुको मृत्युदर ७९० बाट १९० मा झरेको देखिएको छ

महिला स्वास्थ्य स्वयंसेवीहरुको व्यापक परिचालन, खोपका प्रभावकारी अभियान तथा सुध्रिएको बालिका शिक्षाका अवस्थाहरुका कारण नेपालले मातृ शिशु स्वास्थ्यमा द्रुत गतिमा प्रगति हासिल गरेको नयाँ अध्ययनले जनाएको छ।

अधिकारीहरु भन्छन्,अब नेपालको सामु रोकथाम जन्य कार्यक्रमहरुभन्दा उपचारात्मक कार्यक्रमहरु सञ्चालन गर्ने चुनौती आइपरेको छ।

मातृशिशु स्वास्थ्य कार्यक्रममा पाएको सफलताका कारण नेपाल सरकारले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रशंसा बटुलिसकेको हो।

यसपालि विश्व स्वास्थ संगठन, विश्व बैंक तथा जोन हप्किन्स् विश्वविद्यालयको साथमा मिलेर ‘पार्टनरशीप फर म्याटरनल न्यूबर्न एन्ड चाइल्ड हेल्थ’ भन्ने संस्थाले तयार पारेको उक्त अध्ययनले मातृ शिशुको क्षेत्रलाई नेपालमा राजनीतिक तहबाटै देखाइएको प्राथमिकता र प्रतिबद्धताको 'उच्च मूल्यांकन' गरेको छ।

प्रगति

मंगलबार लन्डनमा प्रकाशित हुने उक्त अध्ययनका अनुसार सन् १९९० को तुलनामा २०१३ मा आइपुग्दा नेपालमा प्रत्येक एक लाख जीवित जन्म हुँदा गर्भवती महिलाहरुको मृत्युको दर ७९० बाट १९० मा झरेको छ।

त्यस्तै पाँच वर्षमुनिका बालबालिकाको मृत्युको दर प्रत्येक एक हजार जीवित जन्मिएका बच्चाहरुमध्ये १४२ बाट ४२ मा झरेको छ।

सहस्राब्दी विकास लक्ष्य बमोजिम सन् २०१५ भित्र पूरा गरिसक्नुपर्ने लक्ष्यमध्ये बाल मृत्यु दरको हकमा नेपालले उद्देश्यभन्दा बढ्ता प्रगति अहिलेनै गरिसकेको छ।

तर मातृ मृत्यु दरको हकमा लक्ष्य प्राप्ति हुन अझै अलिकति बाँकी छ।

जेहोस् प्रगतिबाट दंग परेका नेपाली अधिकारीहरु अब यसलाई दिगो बनाउँदै थप अघि बढ्न हाल सञ्चालनमा रहेका कार्यक्रमहरुका अतिरिक्त उपचारात्मक कार्यक्रमहरु अघि बढाइनुपर्ने ठान्छन्।

चुनौतिपूर्ण

परिवार स्वास्थ्य महाशाखाकी निर्देशक डा. किरण रेग्मीले अबका दिन चुनौतीपूर्ण हुने बताइन्।

“अहिलेसम्म त हामीले समुदायमा गएर रोकथाममा धेरै केन्द्रित भएका थियौं, अबका दिनमा हामीले उपचारात्मक पक्षमा ध्यान दिएर ठूल्ठूला अस्पतालहरु र तिनको सेवा सुविधामा ध्यान दिनु पर्नेछ।”

अधिकारीहरु भन्छन्, नेपालमा नियमित चलाइने गरिएका खोप कार्यक्रम तथा समुदायका प्रत्येक सदस्य सम्म पहुँच विस्तार गरेका ५२ हजार महिला स्वयंसेवीहरुको परिचालन कार्यक्रमलाई पछिल्लो प्रगतिको जस दिनुपर्छ।

नेपाल जस्तै द्रुत गतिमा यसरी प्रगति अन्य नौ देशहरुमा बंग्लादेश, क्याम्बोडिया, चीन, इजिप्ट, इथियोपिया, लाओस, पेरु, रुवाण्डा र भियतनाम परेका छन्।

यो सूचीले धेरै विकसित भन्दा मध्यम वा न्यून विकसित मुलुकहरुले झन् द्रुत गतिमा प्रगति गर्न सकेको देखाएको छ।