‘स्वतन्त्र स्कटल्याण्ड ‘हुन्न’ पक्ष विजयी’

  • 19 सेप्टेम्बर 2014
तस्वीर कपीराइट
Image caption जनमतसंग्रहको परिणाम आउन थालेपछि मानिसहरुले खुशियाली मनाएका छन्

स्कटल्याण्डका धेरै जनताहरुले स्वतन्त्र मुलुक बनाउने अभियानको विपक्षमा मतदान गरेका छन्।

स्कटल्याण्ड स्वतन्त्र हुने वा ब्रिटेन अन्तर्गत रहिरहने भनेर बिहिबार गरिएको जनमतसंग्रहमा ५५ प्रतिशत मतदाताले ‘हुँदैन’ भन्ने पक्षमा मत हालेको अधिकारीहरुले बताएका छन्।

३२ मध्ये ३१ वटा स्थानीय निकायहरुको मतपरिणाम सार्वजनिक भएको छ।

चारवटा स्थानीय निकायहरुमा मात्र स्वतन्त्रताको पक्षमा मत खसेको अधिकारीहरुले बताएका छन्।

विजयी

अन्तिम सर्वेक्षणले देखाएकोभन्दा तीन अंक बढीले ‘हुँदैन’ पक्ष विजयी भएको छ।

ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले आफू अत्यन्त खुशी भएको भन्दै संयुक्त अधिराज्य एकीकृत रहने बताएका छन्।

उनले राष्ट्रिय एकताका लागि आग्रह गरे।

स्वतन्त्र हुनुपर्ने अभियानका प्रमुख नेता एलेक्स साल्मण्डले पराजय स्वीकार गरेका छन्।

अधिकार

साल्मण्डले स्कटल्याण्डलाई थप अधिकार दिन आग्रह गरे।

जनमतसंग्रहलाई दुई वर्षदेखि जारी अभियानको परिणामको रुपमा हेरिएको छ।

जनमतसंग्रहमा ८५ प्रतिशत मत खसेको अधिकारीहरुले बताएका छन्।

जनमतसंग्रहको परिणामसँगै स्कटल्याण्डलाई थप अधिकार दिने विषयमा वार्ता सुरु हुने बताईएको छ।