नेपाल-भारत सीमा व्यवस्थापन हुने

  • 20 सेप्टेम्बर 2014
तस्वीर कपीराइट umakanta khanal
Image caption दुई देशको दशगजा क्षेत्रमा बनाइएका भौतिक संरचनाका कारण कतिपय ठाउँमा सीमाना नै देखिन्न

नेपाल र भारतबीचको सीमा व्यवस्थापनको संयुक्त काम सुरु हुने भएको छ।

सीमामा रहेका स्तम्भहरुको व्यवस्थापन गर्न दुवै देशका अधिकारीहरु सहमत भएको बताइएको छ, जसका लागी दुबै देशका अधिकारी र प्राविधिकहरु रहेको कार्यदल र सर्बेक्षण टोली गठन भएको छ।

ती संयन्त्रहरुले सिमामा हराएका भनिएका स्तम्भहरुको खोजी गरेर तिनलाई पुरानै ठाँउमा स्थापना गर्नुका साथै दशगजा क्षेत्रलाई खाली गर्ने काम गर्ने अधिकारीहरुले जनाएका छन्।

दुबै देशका नापी विभागका उच्चअधिकारीहरुबीच दुई दिन भएको छलफलले सीमा व्यवस्थापन गर्ने कार्ययोजना तयार गरेको बताइएको छ।

शुरुवात

तीन वर्षका लागी बनाइएको उक्त कार्ययोजनामा सीमा निर्धारण गर्न राखिएका स्तम्भहरुको खोजी गर्ने र तिनको व्यवस्थापन गर्ने लक्ष्य राखिएको नापी विभागका प्रवक्ता मधुसुदन अधिकारीले बताए।

उनले भने, “हराएका स्तम्भहरु पुर्नस्थापित गर्छौ, नबनाएका ठाँउमा बनाउँछौ र बिग्रे भत्केकाको मर्मत गर्छौ।”

कार्ययोजना अनुसार बनेको कार्यदल र सर्बेक्षण टोलीले दुबै देशका सीमाबिचमा रहेको दशगजा क्षेत्रको अतिक्रमणको अध्ययन पनि गर्ने बताईएको छ।

सिमा क्षेत्रमै गएर गर्नु पर्ने कामको थालनी हिउँद मौसमबाटै शुरु गर्ने जनाउँदै उनले भने, “छिट्टै गर्ने भनेका छौ, तीन महिनाभित्र बैठक बस्छ, यहि हिउँदे मौसमदेखि शुरु हुन्छ।”

यो कार्ययोजनामा धेरै बिबादमा रहेका सीमाक्षेत्र सुस्ता र कालापानीको कुरा भने समावेस छैन।

विवाद सुल्झिने

सुस्ता र कालापानीको बिबाद मिलाउने जिम्मेवारी दुबै देशका परराष्ट्र सचिवहरुलाई यसअघि नै दिइएको छ।

नेपाल-भारत सीमा निर्धारण गर्दा आठ हजार पाँचसय ५३ वटा सीमा स्तम्भहरु राख्नु पर्ने थियो।

तर करिब दुई हजार पाँचसय सीमा स्तम्भहरु पानी भएको क्षेत्र र केही जमिनमा बनाउनै बाँकी छ।

गाडिएका स्तम्भहरु पनि मिचिएका र भारतीय पक्षबाट फालिएका खबरहरु बेला बेला प्रकाशमा आउने गरेका छन्।

यो कार्ययोजना लागू भए सीमा क्षेत्रमा पटक-पटक देखिने गरेका बिबाद हल हुने सरकारी अधिकारीहरुको भनाई छ।