सिरिया समस्या: हजारौं भागेर टर्कीमा

  • 21 सेप्टेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption आइएस विद्रोहीको आक्रमणको त्रासमा सिरियाबाट हजारौं कुर्दहरु टर्कीमा शरण लिन गएका छन्

सिरियाका कुर्द समुदायका ६६ हजार भन्दा बढी मानिसहरु पछिल्लो चौबीस घन्टामा टर्की प्रवेश गरेको अधिकारीहरुले बताएका छन्।

उत्तरी सिरियामा इश्लामिक स्टेट विद्रोही अगाडि बढ्दै गएपछि उनीहरुले आफ्नो ठाउँ छोडेर भाग्नुपरेको बताइएको छ।

आइएसको आक्रमणको त्रासमा भागेका कुर्दहरुका लागि टर्कीले आफ्नो सीमा नाका खोलिदिएको थियो।

संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले थप हजारौं हजार मानिसहरु टर्कीमा शरण लिन आउन सक्ने भन्दै उद्दार कार्य बढाउने बताएको छ।

शरण

आइएसले सिरिया र इराकको ठूलो भूभाग नियन्त्रणमा लिएको छ।

अयन अल अरब पनि भनिने कोबाने क्षेत्र वरपरका दर्जनौं गाउँहरुमा पछिल्लो समय आइएसले नियन्त्रणमा लिएपछि भागदौड मच्चिएको हो।

इराक र सिरियासँग सीमा जोडिएको टर्कीले तिन वर्ष अघि सिरियाली राष्ट्रपति बसर अल असद विरुद्ध आन्दोलन चर्के यता मात्र ८ लाख ४७ हजार भन्दा बढि सिरियालीलाई शरण दिएको छ।

गत २४ घन्टा यता शरणार्थीहरु टर्की आउने क्रम नाटकीय रुपमा बढेको छ।

टर्कीका उपप्रधानमन्त्रीले शनिबार संवाददाताहरुलाई ६० हजार कुर्दहरु भित्रिएको बताएका थिए।

आश्चर्यजनक

सीमा क्षेत्रमा उपस्थित बीबीसीका संवाददाता मार्क लोएन भन्छन्, शरणार्थी आउने क्रम आश्चर्यकजनक छ र आउने क्रम जारी छ।

सीमा नाका खोलिएका बेला करिब तिन सय कुर्द लडाकुहरु टर्कीबाट सिरियातर्फ आइएस विरुद्ध लडाइ गर्न गएको बताइएको छ।

हालै टर्क र कुर्दहरुबीच भएको गृहयुद्धमा ४० हजारको ज्यान गएको थियो।

कोबाने क्षेत्रमाथि नियन्त्रण जमाउन सके टर्कीसँग जोडिएको सिरियाको उत्तरी सीमामा पर्ने ठूलो भूभाग आइएस विद्रोहीको नियन्त्रणमा हुनेछ।