कार्बन उत्सर्जन कटौतीको माग गर्दै विश्वभर प्रदर्शन

  • 22 सेप्टेम्बर 2014
तस्वीर कपीराइट EPA
Image caption प्रदर्शनकारीले कार्बन उत्सर्जन कटौतीका लागि विश्व नेताहरुमाथि दबाब दिन चाहेको बताइएको छ

जलवायु परिवर्तनका असरहरु बढ्दै गईरहेका बेला कार्बन उत्सर्जनमा कटौतीको माग गर्दै विश्वभर प्रदर्शनहरु भएका छन्।

जलवायु परिवर्तनसम्बन्धी न्युयोर्कमा हुन लागेको सम्मेलनअघि दुई हजारभन्दा बढी स्थानमा प्रदर्शनहरु भएको बताइएको छ।

पिपुल्स क्लाइमेट मार्च नामक अभियानले कार्बन उत्सर्जन कटौतीको माग गर्दै आएको छ।

म्यानहट्टनमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनसहित करिब ३ लाख १० हजार मानिसहरुले प्रदर्शनमा सहभागीता जनाएको आयोजकहरुले बताएका छन्।

त्यसअघि अष्ट्रेलिया र युरोपमा ठूला प्रदर्शनहरु भएका थिए।

सन्तति

बानले आउने सन्ततिहरु पनि पृथ्वीमा बस्ने भन्दै बसोबासका लागि अर्को स्थान नभएको बताए।

न्युयोर्कले आईतबार सबैभन्दा ठूलो प्रदर्शनको आयोजना गर्यो, जहाँ विश्वभर भएका प्रदर्शनका सहभागीहरुभन्दा आधा संख्या देखियो।

सडकहरुमा ड्रम र हर्न बजाईरहेका प्रदर्शनकारीहरु देखिन्थे।

त्यहाँका आयोजकहरुले जलवायु परिवर्तनबारे यसअघि भएका प्रदर्शनहरुभन्दा यो ठूलो भएको बताएका छन्।

सरोकार

उनीहरुले वातावरणीय चिन्ताभन्दा पनि जलवायु परिवर्तन सबैको सरोकारको विषय भएको महसुस गराउनका लागि प्रदर्शनको आयोजना गरिएको बताए।

प्रदर्शनमा व्यवसायीहरु, वातावरणविद् र कलाकर्मी लगायतको सहभागीता रहेको बताईएको छ।

प्रदर्शनमा हलिवुडका नायक लियोनार्दो डिक्याप्रियोले पनि थिए।

उनी गतसाता मात्र जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघका दूत नियुक्त भएका थिए।