जयललितालाई चार वर्षको सजाय

  • 27 सेप्टेम्बर 2014
तस्वीर कपीराइट IMRAN QURESHI
Image caption बैंग्लोरको विशेष अदालतले जयललितालाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो

भारतकी एक जना चर्चित र विवादास्पद राजनीतिज्ञ जयराम जयललितालाई बैंग्लोरको एउटा अदालतले भ्रष्टाचारको मुद्दामा चार वर्षको जेल सजाय सुनाएको छ।

अदालतले उनलाई १०० करोड भारतीय रुपियाँ जरिवाना तिराउने निर्णय पनि गरेको छ।

१८ बर्ष अघिको एउटा मुद्दामा अदालतले दक्षिणी राज्य तामिलनाडुकी मुख्यमन्त्री जयललिताले गैरकानुनी रुपमा सम्पत्ती जम्मा गरेको निष्कर्ष निकालेको हो।

उनलाई सन् १९९१ देखि १९९६ सम्ममा झन्डै साढे ६६ करोड भारतीय रुपियाँ स्रोत नखुलेको सम्पत्ती जम्मा गरेको आरोप थियो।

अदालतको आदेशपछि अब उनले मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुपर्नेछ।

फैसला

उक्त मुद्दामा जयललिता र उनकी सहयोगी शशिकला, सुधाकरन भन्ने उनका धर्मपुत्र जसलाई उनले पछि त्याग गरेकी थिइन र शशिकलाकी भान्जी इलावर्सीलाई दोषी ठहर गरिएको हो।

उनीहरु तीनैजनालाई पनि चार वर्षको जेल सजाय र १० करोड भारतीय रुपियाँ जरिवानाको फैसला अदालतले दिएको छ।

भारतको सर्वोच्च अदालतले सन् २००३ मा जयललिताले भ्रष्टाचार गरेको या नगरेको भन्ने बारे निर्णय गर्न विशेष अदालत गठन गरेको थियो।

अदालतको फैसला पछि उनले मुख्यमन्त्रीको पद र विधानसभाको सदस्यता दुवै गुमाउने छिन्।

उतारचढाव

जयललितामाथि उनी पहिलो पटक मुख्यमन्त्री बनेको समयमा स्रोत नखुलेको अत्याधिक सम्पत्ति राखेको आरोपमा उजुरी दायर भएको थियो।

अहिले उनी तेश्रो पटक तामिलनाडुको मुख्यमन्त्री छिन्।

उनी एउटा विशेष विमानमा बैंग्लोर पुगेकी थिइन र अदालतमा कडा सुरक्षा व्यवस्था कायम गरिएको थियो।

यसअघि भ्रष्टाचारकै मुद्दामा जयललिताले एक पटक मुख्य मन्त्री पदबाट राजीनामा दिइसकेकी छिन्।

लोकसभामा उनको पार्टी एआइएडीएमकेको ३७ जना सदस्य छन्।