भारतले राष्ट्रसंघमा पाकिस्तानलाई ‘जवाफ’ दिने

  • 27 सेप्टेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption गुजरातको मुख्यमन्त्री छँदा मोदीलाई अमेरिकाले प्रवेशाज्ञा दिन अस्वीकार गरेको थियो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँच दिने भ्रमणका निम्ति अमेरिका पुगेका छन्।

उनले न्युयोर्कमा जारी राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

सम्बोधनमा उनले पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले विवादित कश्मिर मामिलामा राखेको प्रस्तावबारे जवाफ दिने बताइएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्धीनले भारतले राष्ट्रसंघको सभामा पाकिस्तानलाई जवाफ दिने अवसरको रुपमा उपयोग गर्ने र त्यो अधिकार भारतसँग रहेको बताए।

जनमत संग्रहको माग

पकिस्तानी प्रधानमन्त्री शरीफले महासभालाई सम्बोधन गर्दै कश्मीरको मुद्दा उठाउँदै राष्ट्रसंघको प्रस्ताव अनुसार जनमत संग्रह गर्न माग गरेका थिए।

Image caption विवादित कश्मीर भारत-पाक तनावको एउटा कारण बन्ने गरेको छ

उनले भने, “संयुक्त राष्ट्रसंघले कश्मीरमा जनमत संग्रह गराउने प्रस्ताव पारित गरेको छ दशक भन्दा बढि भइसक्यो, त्यहाँका जनता अहिले पनि त्यो प्रतिवद्धता पुरा हुने प्रतिक्षामा छन्।”

उनले कश्मीरका कयौं पुस्ता कब्जामा रहेको तथा उनीहरुले हिंसाको सामना गर्नु परिरहेको बताए।

शरीफले भने, “उनीहरुको आधारभूत मानवअधिकारको हनन् भएको छ।”

आपसी मुद्दा

उनको संकेत भारत प्रशासित कश्मीर तर्फ थियो जहाँ ठूलो संख्यामा भारतीय फौज तैनाथ छ।

तस्वीर कपीराइट Reuters

पाकिस्तानले कश्मीर मामिलालाई अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाने गरेको छ।

भारतले त्यसलाई दुई देशबीचको आपसी मुद्दा मान्दछ।

प्रधानमन्त्री शरीफले सबै मुद्दा सुल्झाउन र आर्थिक एवं व्यापारिक सम्बन्ध कायम राख्न दुई देशबीच वार्ता जारी राख्नु पर्ने पाकिस्तानको विश्वास रहेको धारणा पनि राखेका छन्।

वार्ता नहुने

उनले भारत र पाकिस्तानका बिदेश सचिव स्तरीय वार्ता रद्द भएकोमा आफू निराश भएको उल्लेख गरे।

दिल्लीस्थिति पाकिस्तानी उच्चायुक्तले कश्मिरी पृथकतावादी नेताहरुसँग भेट गरेपछि भारतले उक्त बैठक रद्द गरेको थियो।

भारतीय विदेश मन्त्रालयका अनुसार न्युयोर्कमा अन्य सरकार तथा राष्ट्र प्रमुखसँग भेटवार्ता गर्ने मोदीको पाकिस्तानी प्रधानमन्त्रीसँग वर्ताको कार्यक्रम छैन।

मोदीले अमेरिकी राष्ट्रपति बराक ओबामा र राष्ट्रसंघका महासचिव लगायतका नेता तथा उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।