बाढी पीडितहरुलाई थप 'चाडबाड राहत'

  • 28 सेप्टेम्बर 2014
Image caption बाढीपीडितहरुलाई चाडबाडका लागि थप राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ

केन्द्रीय दैवी प्रकोप उद्दार समितिले बाढी पीडीतहरुलाई थप राहत दिने निर्णय गरेको छ।

राहत चाडबाडका लागि दिने भनिएको छ।

महत्वपूर्ण चाडबाडका बेला सरकारले बाढी पीडितहरुलाई बेवास्ता गरेको भनेर आलोचना भएको थियो।

दीर्घकालीन व्यवस्थापनका कामका लागि खाध्यान्न कार्यक्रम मार्फत गर्ने प्रस्ताव गरेको समितिले हाल एक महिनालाई पुग्ने खानेकुराको व्यवस्था गरिने जनाएको छ।

निर्णय

यस अघि सरकारले चाडबाड मनाउनका लागि भन्दै बाढी पीडितहरुलाई प्रतिव्यक्ति लुगा किन्न ५ सय र १० दिनका लागि खाद्यान्न भन्दै ३ सय ५० रुपैयाँ बांडेको थियो।

त्यो पैसाले एउटा नयाँ लुगा र १ किलो मासु किन्न पनि नपुग्ने भन्दै गुनासोहरु आइरहेका बेला शनिबार बसेको केन्द्रीय दैवी प्रकोप उद्दार समितिको बैठकले चाडबाडका लागि थप रकम दिने निर्णय गरेको राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्रका प्रमुख झंकनाथ ढकाल बताउँछन्।

उनी भन्छन्, “चाडपर्व मनाउन प्रति परिवार एकमुष्ट तिन हजार दिने र प्रति व्यक्ति दैनिक रु ५० का दरले खाद्यान वापत एक महिनाका लागि नगद दिने निर्णय गरेको छ।“

दीर्घकालीन व्यवस्थापन

हालसम्म तीन चरणमा राहत बाँडिसकिएको र अब एक महिनाका लागि दिईने यो रकम पछि दीर्घकालीन समाधानको विधि अपनाउने समेत निर्णय गरेको उनी बताउँछन्।

उनी भन्छन्, “कामका लागि पैसा र कामका लागि खाध्यान कार्यक्रमहरु संचालन गर्ने निर्णय भएको छ, कृषकहरुका लागि मल,बिउ र प्राविधिक सेवा उपलब्ध गराउने निर्णय भएको छ।"

राहत र पुनर्निर्माणको कामलाई समन्वय र अनुगमन गर्न त्यस क्षेत्रमा रहने गरी मन्त्रीलाई नै पठाउन मन्त्रिपरिषद्लाई सिफारिस गरिएको बताइएको छ।

निर्देशन

यसअघि पनि सरकारका तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार थापालाई त्यस क्षेत्रमा खटाइएको थियो।

सरकारी राहतको सभासदहरुले नै आलोचना गरेपछि संसदको राज्य व्यवस्था समितिले बाढी र पहिरो पीडितहरुलाई चाडपर्व मनाउनका लागि खर्च व्यवस्था गर्न निर्देशन दिएको थियो।

बाढी प्रभावित क्षेत्रको भ्रमण पछि राष्टपति रामवरण यादबले पनि राहत प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।